परराष्ट्रमन्त्रीको स्पष्टिकरण : इन्डो प्यासिफिक सैन्य गठबन्धन होइन

काठमाडौं, जेठ ३१ : परराष्ट्रमन्त्री डा नारायण खड्काले इन्डाप्यासिफिक स्ट्राटेजीलाई सैन्य गठबन्धन नभएको स्पष्टिकरण दिएका छन्। प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री खड्काले इन्डोप्यासिफिक कुनै औपचारिक एलायन्स नभएको बताएका हुन्।
संयुक्त राज्य अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको प्रस्ताव गरिरहेको र यसबाट नेपालालाई अमेरिकाको सैन्य गठबन्धनमा सामेल गराउने खोजिएको भन्दै सांसदहरुले यस विषयमा प्रष्ट पार्नुपर्ने माग राखेका थिए।
जवाफमा परराष्ट्रमन्त्री खड्काले यसअघि एमसीसी पास गर्ने बेलामा पनि सेनाको कुरा उठेको र अहिले एसपीपीको कुरा आउँदा पनि अमेरिकी सेना आउने भनि भ्रम फैलाइएको बताउँदै इन्डोप्यासिफिक कुनै औपचारिक एलायन्स नभएको बताए।
‘हिजो एमसीसी पारित गर्दा पनि हामीले इन्डो प्यासिफिक स्ट्राटेजीका कुरा गर्यौँ,’ खड्काले भने, ‘इन्डो प्यासिफिक कुनै फर्मल एलायन्स केही पनि होइन । इन्डियन ओसियनबाट वेस्ट ओसियनसम्मको एउटा कनेक्सन हो ।’उनले दुईवटा महासागर इन्डियन ओसियन र पश्चिम प्रशान्त महासागरमा पर्ने भू–भागलाई जोड्ने कन्सेप्ट नै इन्डोप्यासिफिक भएको बताए।
उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकाको संघीय सरकारसँग भएका प्रोग्रामलाई पास गरेर मानवीय सहयोगमा प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने, सांस्कृतिक क्षमताहरू आदानप्रदान गर्ने, अभिवृद्धि गर्ने कुराहरूका लागि आएको बताए ।
‘पार्टनरसिप भन्नेबित्तिकै ट्रिटी होइन। साझेदार अस्थायी खालको एउटा कन्सेप्ट हो । कुनै एउटा खास मिसनपछि जान्छ । केही समय बस्छ । ‘यहाँ कुनै मिलिटरी आएकै छैन,’ उनले भने।











