‘गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन’
काठमाडौं, जेठ ३१ : नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन् । मंगलबार संसद भवनमा...
काठमाडौं, जेठ ३१ : नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन् ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित बिपरितको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको बताए।
अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए। उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तित्वमाथिनै धावा बोल्ने तर्क गरे। रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे।
त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपालाई सहयोग गर्दै आएको बताए। उनले अमेरिकाको सैन्य सम्बन्धमा नेपाली सेनाको आधुनिकिरणका र क्षमताबृद्धिलाई थप मजबुद बनाउने बुझाईका साथ सरकारले काम गरिरहेको उनको भनाई छ।
उनले एमससीसी नेपालको हितमा उर्जा क्षेत्रका लागि सहयोग प्राप्त भएको र सैन्य सामाग्री पनि सहयोग स्वरुपकै रुपमा आएको तर्क गरे।











