नारायणगढ-मुग्लिन सडक बिहानैदेखि सञ्चालन
चितवन, जेठ ३१ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक बिहानैदेखि सञ्चालन भएको छ।गएराति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक अवरुद्ध....jpg)
चितवन, जेठ ३१ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक बिहानैदेखि सञ्चालन भएको छ।
गएराति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। यातायातका साधन रातभर बाटोमै रोकिएका थिए।
आज बिहानैदेखि पहिरो पन्छाउन थालिएको थियो। पहिरो पन्छाएपछि अहिले दुइतर्फी सवारी साधन पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
त्यस्तै, भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक दुईतर्फी सञ्चालनमा आएको हो।
शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो। शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ। पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ। दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको प्रहरीले जनाइएको छ।
यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ।











