जिसस खोटाङमा वामलोकतान्त्रिक गठबन्धन विजयी
खोटाङ, जेठ ३० : जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिल्ला...
खोटाङ, जेठ ३० : जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समिति प्रमुखमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० का सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेशकुमार तामाङ विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रमुखमा विजयी राई र उपप्रमुखमा विजयी तामाङले १६/१६ मत प्राप्त गरेका छन्। प्रमुख प्रतिपक्षी दल एमालेबाट प्रमुखका उम्मेदवार बनेका किशोरकुमार श्रेष्ठले चार र उपप्रमुखका उम्मेदवार सन्तोष राईले चार मत मात्र प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिए।
प्रमुख र उपप्रमुखसहित नौ सदस्यीय जिल्ला समन्वय समितिको सदस्यमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्विरोध विजयी भएका छन्। निर्विरोध निर्वाचित हुनेमा खुला सदस्यमा नेपाली कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ, महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र एकीकृत समाजवादीकी दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा विजयी भए।
एमालेले प्रमुख र उपप्रमुखबाहेक अन्य सात जना सदस्यको पदमा उम्मेदवारी दर्ता गराएको थिएन। एमालेसँग चार तथा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलको पक्षमा १६ मत रहेको थियो। २०७४ मा भएको निर्वाचनमा एमाले एक्लैले पाँच स्थानीय तहसहित जिल्ला समन्वय समिति कब्जा गरेको थियो।











