Kathmandu Press

प्रचण्डकाे सचिवालयले भन्याे- अर्थमन्त्री शर्माको राजीनामा मागिएको छैन

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेतृत्वबीच नियमित हुने भेटघाटको विषयलाई बंग्याएर सम्प्रेष्ण गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
प्रचण्डकाे सचिवालयले भन्याे- अर्थमन्त्री शर्माको राजीनामा मागिएको छैन

काठमाडौं, जेठ ३० : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनी चलेको हल्लामा कुनै सत्यता नभएको बताइएको छ।

अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति नरहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री शर्माको राजीनामा मागेको भनी आएको कुरा कसैले नियोजित रूपमा चलाइएको हल्ला मात्र भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएकाे छ।

प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले अर्थमन्त्रीसँग राजीनामा मागेको भन्ने विषय हल्ला मात्र भएको स्पष्ट पारे। ‘राजीनामाको कुरा कहीँकतै पनि उठेको छैन,’ उनले काठमाडौं प्रेससँग भने, ‘यो सबै हावा कुरा हो। 

यही विषयलाई लिएर प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेतृत्वबीच नियमित हुने भेटघाटको विषयलाई बंग्याएर सम्प्रेष्ण गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले त्यसरी गलत ढंगले समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह पनि गरेका छन्।

‘नेतृत्वबीच नियमित हुने भेटघाटको विषयलाई लिएर गलत सूचना सम्प्रेषण नगर्न आग्रह गर्दछु,’ मल्लले फेसबुकमा लेखेका छन्, ‘केही समाचार माध्यमले हिजो अध्यक्ष कमरेड र अर्थमन्त्रीज्यूबीचको भेटलाई लिएर सम्प्रेषण गरेको समाचारले हाम्रो ध्यानाकर्षण भएको छ।’

केही सञ्चारमाध्यमले प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमा बोलाएर ‘राजीनामा मागेको’ समाचार सम्प्रेषण गरेका थिए। त्यस दिन अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माबीच भेटघाट भए पनि पार्टी संगठनलाई कसरी मजबुत बनाउने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको तर राजीनामाकाे कुरा अलिकति पनि नउठेकाे सचिवालयले बताए्को छ।

पार्टी प्रशिक्षणका सिलसिलामा बर्दिया पुगेका प्रचण्डले राजीनामासँग जोडेर आएका समाचार माओवादी केन्द्रलाई बदनाम गराउने हिसाबले कसैले फैलाएको अफवाह मात्र भएको प्रतिक्रिया दिएका छन्।

माओवादी केन्द्रका नेता वर्षमान पुन,  शक्ति बस्नेत, गिरिराजमणि पोखरेललगायत नेताहरुले पनि पार्टीमा राजीनामाबारे केही कुरा नभएको बताएका छन्।

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्