Kathmandu Press

आइजी बढुवा विवादकाे मुद्दा हेर्दाहेर्दैमा, असार ५ का लागि ताेकियाे अर्काे पेसी

काठमाडौं, जेठ ३० : प्रहरीका महानिरीक्षक (आइजी) बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ।धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते...
आइजी बढुवा विवादकाे मुद्दा हेर्दाहेर्दैमा, असार ५ का लागि ताेकियाे अर्काे पेसी

काठमाडौं, जेठ ३० : प्रहरीका महानिरीक्षक (आइजी) बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ।

धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते अन्तिम सुनुवाइ सुरु भएकोमा आज (सोमबार) का लागि अर्काे पेसी तोकिएको थियो। आज पनि सुनुवाइ नसकिएपछि सो रिट हेर्दाहेर्दैमा परेको हो। 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा भएको सुनुवाइमा आज एकजना कानुन व्यवसायी मेघराज पोखरेलले पक्षबाट बहस गरे।

वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

एआइजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठता तथा वरीयता मिचेर सिंहलाई आइजीमा बढुवा गरेकाे भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

बढुवाका लागि आफू योग्य भए पनि सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्थाविपरीत बढुवा गरेको जिकिर पोखरेलको रिटमा गरिएको छ।

सो मुद्दाको पेसी असार ५ गतेका लागि तोकिएको छ । 

साेही इजलासमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णयविरुद्धको रिटमा भने बहस सकिएको छ। 

हाल आइजी रहेका धीरजप्रताप सिंह, अवकाशमा गइसकेका वसन्त पन्त र सेवारत रवीन्द्र धानुकलाई डिआइजीबाट एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध तत्कालीन डिआइजी (हाल अवकासप्राप्त) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश जंग कार्कीले दायर गरेका थिए।

साे रिटमा आज लीलामणि पौडेल र हरी उप्रेतीले पक्षबाट र भीमार्जुन आचार्य, टीकाराम भट्टराई, शम्भु थापा र तुल्सी भट्टले विपक्षबाट बहस गरे। 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्