Kathmandu Press

‘मल अभावले किसान धरधरी रुँदा सरकार मौनधारण गरेर बस्यो’

‘ सरकार जनतालाई राहत दिन बनेको हो । नत्र सरकारको के मतलव भयो ? सरकार हुनु र नहुनुको के अर्थ ?
‘मल अभावले किसान धरधरी रुँदा सरकार मौनधारण गरेर बस्यो’
फाइल तस्बिर

काठमाडौं, जेठ ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मल अभावका कारण किसानहरु रोएर बस्दा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्। 

सोमबारको प्रतिनिधि सभा बैठकमा जरूरी सार्वजनिक महत्वको विषयमा छलफल गर्न नियमित कार्यसूची स्थगत गर्ने प्रस्ताव पेश गर्दै भट्टराईले सरकारले कृषि उत्पादन बढाउने लक्ष्य लिएको तर किसानलाई एक गेडो मल दिन नसकेको बताएका हुन्। 

‘३० प्रतिशत धान उत्पादन बढाउने भनिएको छ । एक दाना मल किसानलाई दिन सक्दैनौं, के आधारले उत्पादन बढ्छ ?’ उनले भने । मलको खोजीमा किसान महिनौं दिनअघिदेखि भौंतारिरहेका, सञ्चारमाध्यममा निरन्तर आइरहेको र संसदमा समेत बारम्बार मलकै विषयमा कुरा उठाउँदा पनि सरकारले उचित जवाफ दिन नखोजेको उनले बताए। ‘खतराको घज्टी बजिरहेको बेलामा सरकार मौनधारण, मुकदर्शक भएर बसेको छ,’ उनले भने। 

उनले सरकार पक्षबाट केही दिनमै मल आउँछ भनेपनि कुन दिन हो भनेर निश्चित गर्न माग गरेका छन् । मकै र धानमा मल हाल्नुपर्ने बेला भइसकेपनि मल नपाएर किसान धरधरी रोइरहेको बताए। ‘४ लाख मेट्रिकटन मल तत्काल आवश्यक भएपनि ७ हजार मात्रै रहेको भनिएको छ । त्यो पनि नाका मै छ रे ! किसानलाई धरधरी रुवाउन बनेको हो यो सरकार ?’ उनले भने। 

भट्टराईले जनताको सुखदुखमा साथ दिनु सरकारको मुख्य कर्तव्य भएपनि त्यस्तो नदेखिएको बताए। ‘ सरकार जनतालाई राहत दिन बनेको हो । नत्र सरकारको के मतलव भयो ? सरकार हुनु र नहुनुको के अर्थ ? उनले भने। 

उनले तत्काल मल उपलब्ध गराउन जी टू जी बाट भएपनि मल ल्याउनुपर्ने बताए । यस सम्बन्धमा संसदका सबै सदस्यहरुले सरकारको ध्यानाकर्षण गराउनुपर्ने र सरकारले पनि संसदमा जवाफ दिनुपर्ने उनको माग छ । 

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्