बजेटमाथिको छलफलमा आज मन्त्रीले जवाफ दिने
काठमाडौं, जेठ ३० : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएका प्रश्नको आजदेखि मन्त्रीले जवाफ दिने भएका छन्।विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका...
काठमाडौं, जेठ ३० : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएका प्रश्नको आजदेखि मन्त्रीले जवाफ दिने भएका छन्।
विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदले बोल्ने क्रम आइतबार सकिएको छ।
आइतबारको बैठकमा शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ।
छलफल सकिएसँगै आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम शुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले बताए। आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
त्यसपछि शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।











