एक साताभित्र नागरिकता विधेयक पारित हुन्छ : प्रधानमन्त्री देउवा
भेटमा प्रधानमन्त्री देउवाले आश्वासनमात्र नभएर एक साता भित्र नागरिकता विधेयक ल्याउने ठोकुवा गरेको सांसद यादवले बताए।
काठमाडौं, जेठ २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरेका छन्। आज बालुवाटारमा जसपा सांसदहरुसँग भएको भेटमा उनले एक साता भित्र नागरिकता विधेयक पारित हुने बताएका हुन।
बालुवाटारमा आज प्रधानमन्त्री देउवालाई भेट्न जसपा सांसद प्रदीप यादव सहितको टोली पुगेका थिए। भेटमा प्रधानमन्त्री देउवाले आश्वासनमात्र नभएर एक साता भित्र नागरिकता विधेयक ल्याउने ठोकुवा गरेको सांसद यादवले बताए।
प्रधानमन्त्री देउवाले भने, बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।
यस अघि बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष समय लाग्ने प्रस्ताव गरिएपनि अब त्यो प्रावधान नरहने भएको छ।
विगतमा बिहे गरेर आउनसाथ अंगीकृत नागरिकता पाउने प्रावधान थियो। प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल समेत गएका थिए।











