आर्थिक समस्याबीच तलब बढाइएको छ, कर्मचारी थप लगनशील बन्ने विश्वास छ : प्रधानमन्त्री
काठमाडाैं, जेठ २९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक समस्याका बाबजुद राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरिएको बताउँदै सबैजना लगनशील भएर...
काठमाडाैं, जेठ २९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक समस्याका बाबजुद राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरिएको बताउँदै सबैजना लगनशील भएर काममा लाग्ने विश्वास व्यक्त गरेका छन्।
आज (आइतबार) कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले ट्रेड युनियनले उठाएका विषय क्रमशः सम्बोधन गर्दै लाने विश्वाससमेत दिलाए।
‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरिएको छ,’ उनले भने, ‘यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ। ट्रेड युनियनले उठाएका माग बिस्तारै पूरा गर्दै लगिनेछ।’
कांग्रेसको एकलौटी सरकार नभएकाले विभिन्न विषयमा कांग्रेस नेतारकार्यकर्ताले मात्रै धेरै दाबी गर्न नमिल्ने पनि उनले स्पष्ट पारे। ‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ उनले भने, ‘यो नबुझीकन तपाईंहरूले दाबी गर्ने कुरा छैन।’
उनले नीति तथा कार्यक्रममा आएका कतिपय कुरा बजेटमार्फत सम्बोधन गरिएको र छुटेका करा कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने विश्वास उनले दिलाए।
प्रधानमन्त्री देउवाले श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन कांग्रेस अझ बढी रचनात्मक ढंगले जाने विश्वास व्यक्त गरे। सामाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने उनको भनाइ थियो।
आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने विषय समेटिएको उनले जानकारी दिए।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा आम श्रमिकलाई स्थापित गर्ने गरी कानुन आए पनि त्यो कार्यान्वन नभएको बताए। उनले श्रमिकलाई भोटको मात्र माध्यम बनाउन नहुनेमा जोड दिए।
प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्धन्द्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सवै क्षेत्रमा देखिएको उल्लेख गरे।
त्यस्तै प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट संचालित सामाजिक सुरक्षा योजनाहरुलाई क्रमशः आबद्ध गर्दै लैजाने बताए।











