पाँच महिनापछि खुल्याे त्रिवि उपकुलपति कार्यालयकाे ताला

काठमाडौं, जेठ २९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा लगाइएको ताला झन्डै पाँच महिनापछि आज (आइतबार) देखि खुलेको छ।
विभिन्न माग राखेर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपा विद्यार्थी संघ (नेविसंघ) र आंशिक प्राध्यापकहरुले गत माघमा त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए।
नेविसंघले माघ ६ गते लगाएको ताला शुक्रबार नै खोलिएको थियो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति माघ २१ गते लगाएको ताला आज खोलएिको हो। तलाबन्दीका कारण लामो समयदेखि बन्द त्रिविको प्रशासनिक कामले अब नियमितता पाउने भएको छ।
नेविसंघले त्रिवि उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति गरेर ताला खोलेको जनाइएको छ भने आंशिक प्राध्यापकहरूले त्रिविसँग ६ बुँदे सहमति गरेर आज ताला खोलेका हुन्।
त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आज भएको सहमतिमा २०७८ मंसिर ८ सम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटका लागि १५ दिनभित्र पहल गर्ने उल्लेख छ।
रिक्त दरबन्दीको अध्ययन गरी आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न नियमानुसार अनुरोध गर्ने, अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि–२०७७ को आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने, क्याम्पस तथा केन्द्रीय विभागले आंशिक शिक्षक नियुक्ति गर्दा केन्द्रीय कार्यालयलको पूर्वस्वीकृति लिन परिपत्रका लागि अनुरोध गर्ने सहमति पनि वार्तामा भएको छ।












