बालेनले बनाए १२ वटा विषयगत समिति, वित्तिय व्यवस्थापन समितिको संयोजकमा डंगोल

काठमाडौं, जेठ २९ : काठमाडौं महानगरपालिकाले १२ वटा विषयगत समिति गठन गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले विभिन्न वडाका वडाध्यक्षहरु संयोजक रहने गरी विषयगत समिति गठन गरेको हो।
नगरप्रमुख बालेन शाहले समिति र त्यसको संयोजक प्रस्ताव गरेपछि बैठकमा सहभागी रहेका कार्यपालिका सदस्यले टेबल ठटाएर पारित गरेका थिए।
१२ समितिमध्य सुशासन समितिमा २६ नम्बर वडाका वडाध्यक्ष खेमराज तिवारी संयोजक तोकिएका छन् । त्यस्तै वित्तिय समितिमा १५ नम्बर वडाका वडाध्यक्ष इश्वरमान डंगोललाई संयोजक तोकिएको छ ।
त्यस्तै सामाजिक समितिको संयोजकमा वडा–१० का वडाध्यक्ष रामकुमार केसी, पूर्वाधार समितिको संयोजकमा वडा–१६ का वडाध्यक्ष मुकुन्द रिजाल, वातावरण समितिको संयोजकमा वडा–१२ का वडाध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्थापन समितिको संयोजकमा वडा–११ का वडाध्यक्ष हिरालाल तण्डुकार र सम्पदा तथा पर्यटन समितिको संयोजकमा वडा–८ का आसामान संगत रहेका छन्।
यसैगरी सूचना तथा प्रविधि समितिको संयोजकमा वडा–१७ का नवीन मानन्धर, शिक्षा तथा स्वास्थ्य समितिको संयोजकमा वडा–२२ का वडाध्यक्ष चिनिकाजी महर्जन, विधायन समितिको संयोजकमा वडा–२३ का वडाध्यक्ष मचाराजा महर्जन, राजस्व समितिको संयोजकमा वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र ३ नम्बर वडाका वडाध्यक्ष प्रेम थापालाई विपद व्यवस्थापन समितिको संयोजक तोकिएको छ।
आजको कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन, बञ्चरेडाँडामा देखा परेको समस्याको दीर्घकालीन समाधान लगायतका विषयमा छलफल भएको थियो । मेयर बालेन शाहले राखेका विभिन्न प्रस्तावहरुमा वडाध्यक्षहरुले सकारात्मक सुझाव दिएका थिए ।
१५ नम्बर वडाका वडाध्यक्ष इश्वरमान डंगोलले विश्व सम्पदा सूचीमा सूचिकृत महानगरभित्रका सम्पदाहरु अस्तव्यस्त बनिरहेकाले तत्काल फोहोरको समाधान गरिनुपर्ने बताए । उनले फोहोर संकलन गर्ने गाडी सिमित संख्यामा रहेकाले पनि समस्या भएको बताएका थिए।
वडाध्यक्ष डंगोलले ब्रुमर सञ्चालन गरी काठमाडौंका सडकको धुलो बढार्नुपर्नेमा पनि जोड दिएका छन् । चालक नपाएर ब्रुमर नचलाइएको भनेर बहानाबाजी गर्नुभन्दा चालकको व्यवस्था गरी तत्काल ब्रुमर सञ्चालन गर्नुपर्ने बताए। जवाफमा मेयर शाहले तीन दिनभित्र महानगरभित्र ब्रुमर सञ्चालन हुने बताए।











