Kathmandu Press

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं, जेठ २८ : महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए ।

प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार सोही गाउँका ५३ वर्षीया महिला कालोदेवी महतो र ५४ वर्षीया दुलारीदेवी रामलाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीसहित १०–११ महिला पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गर्नाका साथै ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित कालोदेवी महतोका छोरा अमित महतो र दुलारी देवीका नाति रामजीवन रामले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा भुलन र सोमारीलाई आज पक्राउ गरेको हो । निजहरुउपर (बोक्सीको आरोप लगाइ कुटपिट गरी ज्यान मार्ने उद्योग)  मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ भने बाँकी फरार व्यक्तिको खोजतलास भइरहेको जनाइएको छ ।

घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार स्थानीय तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रबि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी रामले कालोदेवी महतो तथा दुलारीदेवी राम दुवैलाई बोक्सी भन्दै नग्न पारेर हात, मुक्का, लातीले मरनासन्न गरी कुटपिट गरेका थिए ।

मरनासन्न गरी कुटिएकी महिला कालोदेवीको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको पीडित महिलाका देवर दिनेश महतोले बताए । 

प्रकाशित मिति: १९:१४ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्