‘पहिला हर्कजीले थुप्रै कुरामा प्रश्न उठाउनुभएको थियो, अब उहाँले काम गर्नु र प्रश्न उठाउनुको भिन्नता बुझ्नुहुन्छ’
काम गर्न हर्कजीले बोलेजस्तो, देखेजस्तो, प्रश्न गरेजस्तो सजिलो छैन । प्रश्न उठाउन सजिलो हुन्छ, हरेक पक्षलाई समेटेर काम गर्न आवश्यक नीति, जनशक्ति बजेट नहुँदा गाह्रो हुन्छ।
तिलक राई धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हुन्। ०७४ को निर्वाचनमा धरानको प्रमुखमा एमालेका तर्फबाट तारा सुब्बा निर्वाचित भएका थिए, उनको निधनपछि ०७६ मंसिरमा उपनिर्वाचन सम्पन्न भयो, जसमा कम्युनिस्टको गढ तोड्दै तिलक प्रमुखमा निर्वाचित भएका थिए। यतिखेर अघिल्ला प्रमुखहरूले काम नगरेकै कारण स्वतन्त्रबाट हर्क साम्पाङ उदाएको चर्चा पनि चलेको छ। उनको २८ महिने कार्यकालमा के कति काम भए, के कस्ता अप्ठेरा वा चुनौती आए ? प्रस्तुत छ, यसै सन्दर्भमा पूर्वप्रमुख राईसँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको टेलिफोन वार्ताको सम्पादित अंश :
समग्रमा यहाँको कार्यकाल कस्तो रह्यो ?
उपनिर्वाचनबाट आएकाले मेरो कार्यकाल २८ महिना मात्र रह्यो। ०७४ को निर्वाचनमा मेयरका लागि म पनि उम्मेदवार थिएँ। त्यतिबेला सुब्बासँग चार हजार मतान्तरले हार बेहोर्नुपरेको थियो। निर्वाचित भएको डेढ वर्षमै सुब्बाको निधन भयो। उहाँको निधन हुनासाथ उपनिर्वाचन भएको भए केही काम गर्न सकिन्थ्यो होला। उहाँको निधनपछि उपप्रमुख मञ्जु राईले डेढ वर्ष कार्यवाहक नगर प्रमुख चलाउनुभयो।
म आइसकेपछि विशेषतः कोभिड महामारीको प्रतिरक्षामा धेरै समय र जनशक्ति खर्चिनुपर्यो।
त्यसमाथि विपक्षको दुईतिहाइभन्दा बढी बहुमत थियो, कार्यपालिकामा। त्यसैले काम गर्नका लागि अत्यन्तै चुनौतीपूर्ण थियो। म आइसकेपछि सबैसँग समन्वयन र सहकार्य गरेर तारासुब्बा तथा मञ्जु राईले बनाएका केही योजना र कार्यलाई निरन्तरता दियौँ।
उहाँहरूको योजना र कामलाई निरन्तरता दिँदा म आफैंले योजना बनाएर काम गर्ने अवसर पाइनँ। धरानको मुख्य समस्याका रूपमा रहेको खानेपानीको समस्यालाई पूर्णविराम लगाउने गरी कार्य गर्न पाइनँ।
यद्यपि लामो समय विवाद र बजेटको अभाव भई रोकिएको बसपार्कको योजना परिमार्जन गरेरै भए पनि मेरो कार्यकालमा कार्यान्वयनमा ल्याइयो। कोभिडको प्रभाव र समय अवधि छोटो भएकाले मेरो कार्याकाल सामान्य रह्यो।
तपाईंको कार्यकालमा भएगरेका मुख्य काम के हुन् ?
दीर्घकालीन योजना बनाएर काम गर्न पाइनँ। पुराना अधुरा कामलाई निरन्तरता दिएँ। लामो समयदेखि बसपार्कको समस्या थियो। त्यसको डिपिआर बनाउने काम भयो, जसको अहिले लगभग ४० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।
त्यस्तै, खानेपानीको समस्यालाई समाधान गर्न विभिन्न योजना बनाएर अगाडि बढाइयो। बाटोघाटोको समस्या समाधान गरियो। सुकुम्बासीलाई सुरक्षित बसोबासमा लैजाने योजनामा केही प्रतिशत काम भएँ। त्यसबाहेक कार्यालयमा हुनै दैनिक काम भए। कोभिडका कारण चाहे जति काम गर्न समय मिलेन।
यहाँको कार्यकालमा अगाडि बढेका तर पूरा हुन बाँकी रहेका केही काम छन् कि ?
मैले अघि नै भनेँ, कोभिडका कारण मैले योजना बनाएर काम गर्ने समय नै पाइनँ।
तपाईंको कार्यकालमा काम गर्न सहज असहज के थियो ?
कार्यपालिकामा दुईतिहाइ प्रतिपक्षको थियो। त्यसैले नीति तथा बजेट पास गर्न अत्यन्तै चुनौतिपूर्ण रह्यो। यद्यपि, धरान नगरको विकास र समृद्धिका लागि सबैको उपस्थिति र पहुँचलाई मध्यनजर गरेर काम गर्ने वातावरण बनाएका थियौँ।
अहिले धरानमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ मेयर बनेर आउनुभएको छ, उहाँलाई के सुझाव दिन चाहनुहुन्छ ?
उहाँले धरानका थुपै्र कुरामा औँला उठाउनुभएको थियो। अहिले स्वयं मेयर बनेर आउनुभएको छ, अब उहाँले काम गर्नु र प्रश्न उठाउनुको भिन्नता बुझ्नुहुन्छ। उहाँले प्रश्न गरेझैँ छोटो समयमा नतिजा देखिने गरी काम गर्न गाह्रो छ। उहाँलाई तत्काल रिजल्ट चाहिन्छ। जनताले पनि तत्काल रिजल्ट चाहन्छन्। नगरवासीको माग सम्बोधन गरेर तुरुन्त रिजल्ट दिने गरी काम गर्न सुझाव दिन चाहन्छु।
स्वतन्त्र भए पनि राजनीति बुझेको व्यक्तिलाई काम गर्न सजिलो हुन्छ। राजनीतिक पृष्ठभूमि र सामाजिक काम एउटै हो। राजनीति नगरे पनि सामाजिक कामले कतै न कतै राजनीति छोएकै हुन्छन्।
यहाँको अनुभवमा, स्वतन्त्रबाट निर्वाचित हुनुभएकाले नवनिर्वाचित हर्क साम्पाङलाई काम गर्न के कस्ता सहज वा असहज परिस्थिति सिर्जना होलान् ?
काम गर्न हालका प्रमुख हर्क साम्पाङजीले बोलेजस्तो, देखेजस्तो, प्रश्न गरेजस्तो सजिलो भने छैन। प्रश्न उठाउन सजिलो हुन्छ। हरेक पक्षलाई समेटेर काम गर्न आवश्यक नीति, जनशक्ति बजेट नहुँदा गाह्रो हुन्छ। त्यसैले प्रमुखलाई उहाँले भनेजस्तो गरी काम गर्न सहज छैन।
विभिन्न दलबाट आएका प्रतिनिधि छन्। उनीहरूका आ–आफ्ना सिद्धान्त हुन्छन्। आम नागरिकले सोचेभन्दा कार्यकाल सम्हाल्दा केही फरक हुन्छ। दीर्घकालीन योजना बनाएर काम गर्ने निर्णय गर्दा नगर कार्यपालिकामा लैजानुपर्छ। बजेट खर्च, नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि कार्यपालिकामा बहुमत आवश्यक पर्छ। फरक दल तथा स्वतन्त्रबाट भए पनि राम्रो कामका लागि योजना बनाउँदा बाधा नआउने अपेक्षा गर्न सकिन्छ।
तत्काल रिजल्ट देखिने गरी काम गर्न सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छ। अहिले उहाँ स्वतन्त्रबाट आएकाले केही फरक ढंगबाट अगाडि बढ्न चाहेर पनि सकिँदैन। सबैको सहकार्य आवश्यक हुन्छ। सहमति सहकार्य नभए विकास निर्माणका कार्य अवरुद्ध भई धरान पछि पर्न सक्छ।
अन्तमा, केही भन्न चाहनुहुन्छ कि ?
धरान उपमहानगरपालिकामा निर्वाचित हुनुभएका सबैै जनप्रतिनिधिलाई धरानको विकास र समृद्धिमा मिलेर काम गर्न आग्रह गर्न चाहन्छु। फरक पृष्ठभूमि, फरक दलबाट प्रतिनिधित्व गरेर आए पनि सबैको लक्ष्य धरानको विकास नै हो। त्यसैले विकासका काममा लाग्नका लागि आग्रह गर्दछु। र, निर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु।











-(86)-1764936079.jpg)
