हिमालपारीको जिल्ला मनाङमा मिलारेपाको ‘स्मृति पार्क’
मनाङ, कात्तिक १८ : हिमालपारीको जिल्ला मनाङमा मिलारेपा लामा गुरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ।
मिलारेपाको सम्झनामा माथ....
मनाङ, कात्तिक १८ : हिमालपारीको जिल्ला मनाङमा मिलारेपा लामा गुरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ।
मिलारेपाको सम्झनामा माथिल्लो मनाङमा निर्माण गरिएको गुम्बासहितको स्मृति पार्कको सोमबार उद्घाटन गरिएको हो। स्मृति पार्कको मनाङ गाउँका प्रमुख लामा गुरु कुन्साङ्ग गुरुङले उद्घाटन गरेका हुन्।
स्थानीय लामा बुद्धिजिवीका अनुसार मिलारेपा अर्थात लामा गुरु योगीको रुपमा हिमाली क्षेत्रमा परापूर्वकालमा ध्यान गर्थे। मिलारेपाले परापूर्वकालदेखि तपस्या गर्दै आएको स्थान मनाङको भ्राका स्याकुङ्ग (हाल ङिस्याङ गाउँपालिका–५) मा मिलारेपा गुफा समेत रहेको छ। सो स्थान धार्मिक तीर्थ स्थलको रुपमा निकै परिचित छ।
सो स्थानमा धेरै धार्मिक पर्यटक लगायत अन्य पर्यटकहरु समेत पुग्ने गर्छन्। सो स्थानमा जान वृद्धवृद्धाका लागि कठिनाइ हुने भएकाले सबैको सहजताका लागि स्थानीय लामा छोजे लामा फुन्छोक रिन्पोछेको एक प्रयासमा माथिल्लो मनाङमै मिलारेपा स्मृति पार्क निर्माण गरिएको हो।
गुम्बासहित निर्माण गरिएको पार्कमा मिलारेपा लामा गुरुको सम्पूर्ण इतिहास थाहा पाउन सकिने लामा फुन्छोक रिन्पोछेले जानकारी दिए। पार्कमा मिलारेपा लामा गुरुको ४ भाषा (तिब्बेतीयन, नेपाली, अंग्रेजी र चाइनिज) मा इतिहाससँगै जीवनीबारे बुझ्न सकिने समेत उनले बताए।
विश्व विख्यात अन्नपूर्ण पदमार्गमा पर्ने माथिल्लो मनाङमा वार्षिक हजारौँ अन्तरिक र बाह्य पर्यटक भित्रिन्छन्। यहाँ आउने पर्यटकका लागि पनि यो स्मृति पार्क आकर्षणको माध्यम बन्न सक्ने स्थानीय समाजसेवी विनोद गुरुङले बताए।
स्मृति पार्क उद्घाटन समारोहका अवसरमा मनाङबाट निर्वाचित प्रतिनिधि सभा सांसद कर्म घले, पूर्वमन्त्री टेकबहादुर गुरुङ, विभिन्न देशका ख्यातिप्राप्त लामा गुरुहरुको सहभागिता थियो। स्मृति पार्क निर्माण कार्यको समन्वय भने स्थानीय पर्यटक व्यवसायी छिरिङ ओङ्गमा घलेले गरेका थिए।