पूर्वी नेपालबाट पश्चिमतिर फैलदै मनसुन
काठमाडौं, जेठ २८ : पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन पश्चिमतिर फैलदै गएको छ।अहिलेसम्म यस वर्षको मनसुनी प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल...
काठमाडौं, जेठ २८ : पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन पश्चिमतिर फैलदै गएको छ।
अहिलेसम्म यस वर्षको मनसुनी प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली पुगेको छ।
देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ।
यस वर्षको मनसुन सरदर मितिभन्दा अघि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।
देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।
आज दिउँसो प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।











