नारायणघाट-मुग्लिन सडकमा फेरि पहिरो, रातभर अवरुद्ध
चितवन, जेठ २८ : नारायणघाट-मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा रातभर सडक अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गएराति टोपे खोला नजिकै पहिरो....jpg)
चितवन, जेठ २८ : नारायणघाट-मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा रातभर सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गएराति टोपे खोला नजिकै पहिरो खसेको हो। जसले गर्दा राति दुईतर्फी सडक अवरुद्ध भएको थियो।
आज बिहान पहिरो पन्छाइएको छ। पहिरो पन्छाएर गाडी वारपार गर्न थालिएको छ। तर, पानी परिरहेकाले सकड पूर्ण रुपमा खुल्न सकेको छैन।
एकतर्फी रुपमा सडक सञ्चालनमा आए पनि जाम लागेको छ। रातभर रोकिएका गाडी वारपार गराउनै मुस्किल भएको प्रहरीले जनाएको छ।
यसअघि बिहीबार राति पनि ठाउँठाउँमा पहिरो गएको थियो। जसले गर्दा सडक अवरुद्ध भएको थियो। शुक्रबार पनि दिउसो पटकपटक सडक अवरुद्ध भएको थियो।
पानी पर्ने बितिक्कै पहिरो खस्ने गरेकाले समस्या भएको प्रहरीले जनाएको छ। जसले गर्दा यात्रुले सास्ती खेप्नु परिरहेको छ।
त्यस्तै, आँबुखैरेनी-मुग्लिन खण्डमा पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। सडक भाँसिएपछि गएराति आवतजावत बन्द गरिएको थियो।
आज बिहानैदेखि सडक खुले पनि एकतर्फी मात्रै गाडी चलिरहेका छन्। सडक भाँसिएको ठाउँमा मर्मत गर्न कठिनाइ भएकाले एकतर्फी गाडी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार सडक भाँसिँदा दुई जनाको मृत्यु भएको थियो। कार र मोटरसाइकल पहिरोमा परेको थियो।











