Kathmandu Press

ब्याटिङ नचल्दा नेपाल ओमानसँग १३ रनले पराजित

काठमाडाैं, जेठ २७ : नेपाली क्रिकेट टिमको ब्याटिङ पुनः एक पटक असफल भएको छ। नेपाली ब्याट्सम्यानले धैर्यपूर्ण ब्याटिङ गर्न नसक्दा विश्वकप लिग २...
ब्याटिङ नचल्दा नेपाल ओमानसँग १३ रनले पराजित

काठमाडाैं, जेठ २७ : नेपाली क्रिकेट टिमको ब्याटिङ पुनः एक पटक असफल भएको छ। नेपाली ब्याट्सम्यानले धैर्यपूर्ण ब्याटिङ गर्न नसक्दा विश्वकप लिग २ अन्तर्गतको चौथो सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भयो ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा २१२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा १९८ रनमै अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले पनि टिमलाई जित दिलान सकेनन्। नेपालका लागि देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन मात्र बनाउन सके।
फर्ममा रहेका दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई गुमाएको नेपालको इनिङ अनुभवी सुवास खकुरेल र डेब्यू गरिरहेका सुनिल धमलाले गरेका थिए। सुवास २ रनमै आउट हुँदा सुनिलले १२ रन बनाए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा जिसन मक्सुद र खवार अलीले समान २ विकेट लिए भने बिलाल खानले २ विकेट लिए।

त्यसपछि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेटको क्षतिमा २११ रन बनायो। नेपाली बरले उत्कृष्ट बलिङ गरेपछि कप्तान जिसन मक्सुदले सम्हालिएर ब्याटिङ गर्दै शतक बनाएपछि ओमानले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो।

मक्सुदले १२६ बलमा १२ चौका प्रहार गर्दै १०४ रन बनाए। यस्तै, खवार अलीले ३० रन बनाउँदा सोयब खानले २७ रन बनाए ।

नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । उनी सोमपाल कामी र सन्दीप लामिछानेले पछि एकदिवसीय अन्तर्राष्ट्रियमा एकै खेलमा ५ विकेट लिने खेलाडी बने। यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए।

प्रतियोगितामा नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ भने ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ ।

अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।

 

प्रकाशित मिति: १०:२८ बजे, शुक्रबार, जेठ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्