Kathmandu Press

विदेशी तीन एयरलाइन्सले नेपाल उडान गर्दै, काठमाडौं-दिल्ली भाडा सस्तिने

काठमाडौं, कात्तिक १८ : सन् २०२० को सुरुआतमै तीन विदेशी एयरलाइन्सले नेपाल उडान गर्ने भएका छन्। नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय....

विदेशी तीन एयरलाइन्सले नेपाल उडान गर्दै, काठमाडौं-दिल्ली भाडा सस्तिने

काठमाडौं, कात्तिक १८ : सन् २०२० को सुरुआतमै तीन विदेशी एयरलाइन्सले नेपाल उडान गर्ने भएका छन्। नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान गर्न लागेका हुन्।

भारतबाट स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपाल उडान गर्ने अनुमति पाएको छ। त्यस्तै, कुवेतबाट जजिरा एयरवेजले नेपालमा उडान अनुमति पाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, मंसिरभित्रै स्पाइस जेट र जजिराले उडान गर्न लागेका हुन्। त्यस्तै, भिस्तराले नयाँ वर्षसँगै उडान सुरु गर्न लागेको हो।

स्पाइस जेटले काठमाडौं–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौं–नयाँ दिल्ली रुटका लागि दैनिक एक/एक उडान गर्ने छन्। विगतमा काठमाडौं–दिल्ली उडान गर्दै आएको स्पाइस जेटले अहिले मुम्बईमा समेत उडान गर्ने अनुमति लिएको छ।

२०६५ देखि काठमाडौं–नयाँ दिल्ली उडान सुरू गरेको स्पाइसले २०७२ पछि यस रुटमा उडान बन्द गरेको थियो। त्यस्तै, भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको लगानी रहेको भिस्ताराले काठमाडौं–दिल्ली उडान गर्न लागेको हो।

दिल्ली–काठमाडौं उडान गर्दै आएको जेट एयरवेजले गत वैशाखमा उडान बन्द गरेको थियो। जसका कारण काठमाडौं–दिल्ली रुटको हवाई भाडा महंगो हुदै आएको छ। काठमाडौं–दिल्लीको हवाई भाडा ५० हजार रुपैयाँसम्म पुगेको थियो। नयाँ एयरलाइन्स थपिएसँगै हवाई भाडा घट्ने अनुमान गरिएको छ।

काठमाडौं–नयाँ दिल्लीमा अहिले नेपालको नेपाल वायुसेवा निगम, भारतको एयर इन्डिया र इन्डिगो एयरले उडान गरिरहेका छन्।

काठमाडौं–कुवेत उडान गर्दै आएको कुवेतको वतानिया एयरवेज बन्द भएपछि सोही देशकै अर्को एयरलाइन्स कम्पनी जजिराले उडान गर्न लागेको हो। जजिराले हप्ताको सातै दिन उडान गर्ने गरी अनुमति पाएको छ।

यि तीन एयरलाइन्स थपिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने एयरलाइन्सको संख्या ३१ पुग्नेछ।

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, कात्तिक १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्