प्रदेश १ को नामकरणबारे छलफल गर्न एमालेले बनायाे समिति
विराटनगर, जेठ २६ : सात प्रदेशमध्ये ६ वटाको नामकरण भइसक्दा पनि प्रदेश सरकारको कार्यकाल सकिन लाग्दा समेत प्रदेश १ को नामकरण हुन सकेको...
विराटनगर, जेठ २६ : सात प्रदेशमध्ये ६ वटाको नामकरण भइसक्दा पनि प्रदेश सरकारको कार्यकाल सकिन लाग्दा समेत प्रदेश १ को नामकरण हुन सकेको छैन।
यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश १ को नामकरणका लागि सक्रियता बढाएको छ। सो विषयमा छलफल गर्न एमालेले पूर्वमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ।
आज (बिहीबार) बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले बनाएको समिति सदस्यमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र प्रदेश सांसद अर्जुन राई छन्।
गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालीन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा समिति गठन गरे पनि त्यसले सार्थक कदम चाल्न नसकिरहेका बेला एमालेले प्रदेशको नामबारे दलभित्र र अन्य दलसँग छलफल गर्ने हिसाबले सो समिति बनाएको हो।
समितिले शुक्रबारबाट नै छलफल थाल्ने जनाइएको छ। केही दिनअघि मात्र मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिक कार्यक्रममा ठुलो दल भएका कारण एमालेलाई नामका लागि छलफलको नेतृत्व लिन आग्रह गरेका थिए।
प्रदेश १ मा ९० जना सांसद छन्। ३९ सांसद रहेकाले एमाले प्रदेशसभामा सबैभन्दा ठुलो दल हो। त्यहाँ कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जनता समाजवादी पार्टी (जसपा) का ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्। एमाले र राप्रपा सरकारबाहिर छन्।
सरकारबाहिर रहे पनि सबैभन्दा ठुलो दल भएकाले प्रदेश नामकरणमा एमालेको सक्रियताले विशेष अर्थ राख्ने विश्लेषण गरिएको छ।








-1787140035.png)


