Kathmandu Press

कहाँकहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

काठमाडौं, जेठ २७ : नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन। नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा...
कहाँकहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

काठमाडौं, जेठ २७ : नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन। नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ।

विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन्। 

निजी क्षेत्रले माथिल्लो तहका पाठ्यपुस्तक पनि छपाइ गरिरहेका छन्। विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको विषय सङ्घीय संसद् र सञ्चारमाध्यममा दैनिकजसो उठिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र भने आफूले छाप्न बाँकी रहेकाबाहेक छापिइसकेका पुस्तक पनि सम्बन्धित विद्यालयमा नपुगेको जनाइरहेका छन्। 

मन्त्रालयका सचिव एवं केन्द्रको सञ्चालक समितिका यादवप्रसाद कोइरालाले आज केन्द्रका अधिकारीलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटोछरितोरुपमा बिक्रीवितरण गर्न निर्देशन दिएका छन्। चालु शैक्षिक सत्रका लागि कक्षा ४ देखि १० सम्म कुल १ करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा आजसम्म १ करोड ८० लाख थान (करिब ९० प्रतिशत) उत्पादन भइसकेको केन्द्रको भनाइ छ।

छपाइ भइसकेकामध्ये कतिपय पुस्तक ढुवानीका क्रममा रहेको र विद्यालयमा पुग्न बाँकी रहेकाले नपुग भएको गुनासो आएको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताए। 

दैनिक एक लाख पाठ्यपुस्तक उत्पादन गर्दै आएको केन्द्रबाट आज मात्रै सुर्खेत र चितवनका लागि पाठ्यपुस्तक ढुवानी भएको छ। आचार्यले अबको १५ दिन (असार १० गतेभित्र) बाँकी सबै (करिब १५ लाख थान) पुस्तक छपाइ सम्पन्न गरिने जनाउँदै बजारमा समानुपातिक वितरण नहुँदा यो समस्या आएको बताए।

हाल कक्षा ६ र ८ का सामाजिक, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक बढी अभाव देखिएको छ। ती पुस्तक निजी क्षेत्रले पनि उत्पादन गरेकाले केन्द्र र निजी क्षेत्रबीचको समन्वय नहुँदा कहाँ कति विद्यार्थीका लागि कसले कति उत्पादन र वितरण गर्ने भन्ने तथ्याङ्कको अभाव पनि देखिएको छ।

 कक्षा ५, ८ र १० का पाठ्यपुस्तक आगामी शैक्षिकसत्रमा परिवर्तन ९कोर्स आउट० हुने भएकाले पनि केन्द्रले भण्डारमा नरहने गरी यस वर्षका लागि आवश्यक सङ्ख्यामा मात्रै उत्पादन गरिरहेको छ। यस्तै पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४, ७ र ९ का अनुदित ९अंग्रेजी माध्यम०का पाठ्यपुस्तकको मुद्रणीयप्रति (सिआरसी) प्राप्त नभएकाले पनि माग भए पनि आफूहरुले अनुदित पुस्तक दिन नसकिएको केन्द्रको भनाइ छ। सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पनि पढाइ हुन थालेको र कति विद्यालयमा अनुदित पुस्तक चाहिने भन्ने तथ्याङ्क पनि सरकारी नियकासँग उपलब्ध छैन।
 
कतिपय सन्दर्भमा स्थानीय बिक्रेताले केन्द्रका प्रादेशिक कार्यालयबाट समयमा नलैजाने, बिक्रेतासँग उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विगतमा पनि विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको देखिन्छ।

केन्द्रले सार्वजनिक सूचना जारी गरी स्थानीय बिक्रेताकोमा पाठ्यपुस्तक उपलब्ध नभए कक्षा र विषय खुलाइ स्थानीय बिक्रेतामार्फत् केन्द्रका प्रादेशिक कार्यालयका साथै सम्बन्धित तह, शिक्षा विकास तथा समन्वय इकाइ र जनक शिक्षाको केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन आग्रह गरेको छ। 

केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ। पाठ्यपुस्तक छपाइ र वितरणमा निजी क्षेत्रबाट संलग्न मुद्रण व्यावसायी दीपक भण्डारीले आफूहरुलाई प्राप्त भएको अभावको सूचनाका आधारमा प्रदेशगत रुपमा पनि समन्वय गरी उपलब्ध गराउने गरिएको बताए। 

उनले हालै आफूले हुम्ला, डोल्पा र विराटनगरमा समन्वय गरी अभावको समस्या समाधान गरेको जनाए। (रासस)

प्रकाशित मिति: १६:२० बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्