हुबहु प्रश्नपत्रबारे केन्द्रीय परीक्षा समितिद्वारा छानबिन
काठमाडौं, जेठ २६ : त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ।त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी...
काठमाडौं, जेठ २६ : त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ।
त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई वटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो। मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ।
त्रिवि मानविकी सङ्कायका डीन प्रा.डा. कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिसकेको जानकारी दिए। अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनका लागि सचेत भएको उनको भनाइ छ।
त्रिविले विज्ञ समूहबाट प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीको कारणले अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गरेको छ।
रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा.डा. पेशल दाहालले मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेकाले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गरिने बताए। मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेको पत्र प्राप्त भएको र छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुने उनको भनाइ छ।
उनले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताए। ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ।








-1787140035.png)


