शून्य समयमा कुन सांसदले के भने ?
काठमाडाैं, जेठ २५ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारसमक्ष विभिन्न माग राखेका छन्।सांसद डा. अमरेशकुमार सिंहले संसद्मा उपसभामुखको नियुक्ति किन...
काठमाडाैं, जेठ २५ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारसमक्ष विभिन्न माग राखेका छन्।
सांसद डा. अमरेशकुमार सिंहले संसद्मा उपसभामुखको नियुक्ति किन ढिलाइ भइरहेको छ भनी प्रश्न गर्दै आवश्यकता नभए उक्त पद खारेज गर्न माग गर्नुभयो। उहाँले संसद्को राज्य व्यवस्था र सुशासन समिति सक्रिय नभएको भन्दै दुवैको औचित्य र आवश्यकता छैन भने खारेज गर्न माग गरे।
सांसद अमृता थापाले देशमा बालिका र किशोरीले बाँच्न पाउनुपर्ने वातावरण सिर्जना गर्न माग गरिन्। हालै इटहरीका १५ वर्षीया अस्मिता चौधरीलाई विराटनगरका १३ वर्षीय विनोदकुमार मण्डलले गाडी चढाउने बहानामा बेपत्ता बनाएको घटनाको अहिलेसम्म प्रहरी प्रशासनले चासो नदिएको भन्दै तत्काल सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरिन्।
सांसद आशाकुमारी विकले दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु, घटना बढिरहेको तथा हिजो मात्रै सुर्खेतमा सात वर्षिया बालिका गृष्म विक मृत फेला परेको, बाँकेको खजुरामा जन्मदिन मनाउन गएका बालबालिकाको सामूहिक बलात्कार भएको लगायत जघन्य अपराध गर्ने दोषीलाई कारबाही गर्न माग गरिन्।
सांसद उमाशङ्कर अर्गरियाले कृषिप्रधान देश नेपालमा कृषकले पटक–पटक मल अभाव भोग्नुपरेको भन्दै यो पटक कृषकलाई मलखादको अभाव हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए।
सांसद कृष्णबहादुर राईले काठमाडौँको विभिन्न सडक बोलपत्र भएर पनि पानीट्याङ्की तीनचुले सडक, जोरपाटीसडक खण्डलगायत किन ढिलाइ भइरहेकामा सरकारको ध्यानाकर्षण गराए।
सांसद कृष्णभक्त पोखरेलले किसानले मल कहिले पाउँछन् पाँच दिनभित्र सम्बन्धित मन्त्रीलाई जवाफ दिलाउन सभामुखको ध्यानाकर्षण गराए।
सांसद खगराज अधिकारीले त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दी तत्काल खोलेर समस्या समाधानतर्फ ध्यानाकर्षण गराए। उनले महाअभियोगको प्रस्ताव तत्काल अघि बढाउन पनि माग गरे।
सांसद खेमप्रसाद लोहनी देशमा अराजकता र अशान्ति बढिरहेको तथा जघन्य किसिमका हत्या र बलात्कारका घटना दिनानुदिन बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बर्दिया घटनामा हत्याका दोषीलाई कारबाही गर्न र घाइतेहरुको उपचार गर्न माग गरे।
सांसद गोपालबहादुर बलमे मुगु जिल्लाका कैदीबन्दीले विभिन्न समस्या झेलिरहेको भन्दै कारागारको व्यवस्थापन गर्न माग गरे। सांसद गंगा चौधरीले मुलुकमा हत्या, बलात्कार लगायतका घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद घनश्याम खतिवडाले मोरङको बक्राह खोलालगायत आयोजनाको ठेक्का लागिसके पनि काम नभएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद चाँद ताराकुमारीले केही अनलाइनले ठूला नेता र सेलिब्रेटीको चरित्रहत्या गर्ने काम भइरहेको जनाउँदै दोषीमाथि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।
अर्का सांसद झपटबहादुर रावल लगायतले किसानहरुले मलखादको अभावले आक्रान्त बनेको जनाउँदै उनीहरुले कहिलेसम्म मल पाउँछन् भनी जवाफ माग गरे।








-1787140035.png)


