Kathmandu Press

‘नक्कली किसान र जमिनदार पोस्न सरकारले किसान पेन्सन कार्यक्रम ल्यायो’

‘गरिब किसान, भूमिहीन किसान, सिमान्तकृत किसान,  धनी किसान र जमिनदारले पनि किसान नै लेख्छन, कुन किसानका लागि पेन्सनको कुरा गरिएको हो ?’
‘नक्कली किसान र जमिनदार पोस्न सरकारले किसान पेन्सन कार्यक्रम ल्यायो’

काठमाडौं, जेठ २५ : नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले जमिनदार र नक्कली किसानलाई पोस्नका लागि किसान पेन्सन कार्यक्रम ल्याएको आरोप लगाएका छन्।

बुधबार संघीय संसदमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद भट्टराईले सरकारले किसानको सूचिकरण र वर्गीकरण नगरी ‘किसान पेन्सन कार्यक्रम’ ल्याएको र यसबाट वास्तविक किसानलाई भन्दा नक्कली किसानलाई फाइदा पुग्ने बताएका हुन्। 

‘गरिब किसान, भूमिहीन किसान, सिमान्तकृत किसान,  धनी किसान र जमिनदारले पनि किसान नै लेख्छन,’ भट्टराईले भने,‘ कुन किसानका लागि पेन्सनको कुरा गरिएको हो ?’ उनले किसान पेन्सन कार्यक्रम बाघ र बाख्रालाई एउटै खोरमा थुनेर बाख्राको संरक्षण गर्छु भनेजस्तो हुने बताए। किसान पेन्सन कार्यक्रम ठिक ढंगले कार्यान्वयन गर्न किसानको सूचीकरण  र वर्गीकरण हुनुपर्ने उनको भनाई छ।

उनले पेन्सन भन्नेबित्तिकै निश्चित वर्षपछि दिइने निर्वत्तिभरण रहेको बताए । ‘कति वर्ष किसान काम गरेका व्यक्तिले यो पेन्सन पाउने हो, अवधारणागत हिसाबले स्पष्ट छैन,’ उनले भने। 

भट्टराईले किसानहरुले जम्मा गरेको रकममा सरकारले थप १० प्रतिशत दिने विषय पनि वास्तविक किसानका लागि नभएको जिकिर गरेका छन् । ‘भूमिहीन गरिब किसानले जम्मा गर्नै सक्दैन, धनी र जमिनदारले जम्मा गर्न सक्छ,’ उनले भने, ‘जमिनदारले २ करोड जम्मा गरेको छ भने सरकारले १० प्रतिशत वापत २० लाख पैसा जमिनदारको खातामा हालिदिन्छ। सरकारले कसलाई पोस्दै छ? वास्तविक किसान होइन, नक्कली किसान पोस्दैैछ।’ यस सम्बन्धमा कृषि मन्त्रीले सदनलाई प्रष्ट पार्नुपर्ने उनले बताए। 

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्