लोसपालाई पार्टी एकताका लागि जसपा अध्यक्ष यादव आह्वान

जनकपुरधाम, जेठ २५ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पार्टी एकताका लागि आह्वान गरेका छन्।
सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्। आज बुधबार बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जसपाबाट अलग भई महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोसपालाई पार्टी एकताका लागि उनले आह्वान गरे। मधेसको मत बाँडिदा मधेसी जनतालाईनोक्सान हुने भएकाले एकताका लागि आफूहरू तयार रहेको उनको भनाइ थियो।
‘समीक्षा गरेर पार्टी एकताका लागि आउनुहोस्, हामी तयार छौं। विगतका गल्ती, त्रुटि सच्याएर अगाडि बढौं,’ उनले भने, ‘मधेसको मत बाँडिएर मधेसीलाई धेरै नोक्सान भयो। अब फुटेर होइन, जुटेर अगाडि बढौं। पार्टी एकताका लागि हाम्रो ढोका खुला छ।’
उनले पाँच दलीय गठबन्धन आगामी कात्तिक–मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म रहने बताए। ‘सामाजिक न्यायका लागि, राष्ट्रहितका लागि गठबन्धनको निरन्तरता आवश्यक छ,’ उनले भने। प्रतिगामीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्नेमा पनि जोड दिए। मधेसमा ५३ प्रतिशत जनसंख्या रहेकाले सोहीअनुसारको निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्नेमा उनले जोड दिए।
संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक पेस भई पारित पनि हुने उनले बताए।








-1787140035.png)


