बर्दियामा आन्दोलित स्थानीयमाथि प्रहरीले गोली चलायो, एक किशोरीको मृत्यु
प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु रहेकी छन्।
काठमाडौं, जेठ २४ : बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु रहेकी छन्।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो ओराली बजारका स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाएपछि थप ४ जना स्थानीय घाइते भएका छन्।
प्रहरीले भने आन्दोलनमा उत्रिएका स्थानीयले बाटो अवरुद्ध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरेको कारण स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताएका छन्। प्रदर्शनकारीको ढुंगामुढाबाट प्रहरी हवलदार पार्वता खड्का घाइते भएका छन्।
मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो।
पटकपटक बाघको आक्रमणबाट आतंकित स्थानीयले जनप्रतिनिधि र स्थानीय प्रशासन गुहारेका थिए । तर सम्बन्धित निकायबाट बेवास्ता भएपछि सोमबार त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका थिए।








-1787140035.png)


