Kathmandu Press

प्रतिनिधिसभा बैठक मङ्गलबार पुनः बस्ने

काठमाडौं, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ ।आजको बैठकमा कानुन न्याय ताथ संसदीय...
प्रतिनिधिसभा बैठक मङ्गलबार पुनः बस्ने

काठमाडौं, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ ।

आजको बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । 

मङ्गलबार बिहान ११ः३० बजे बस्ने अर्को बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए  । 

आजको बैठकमा सांसद प्रकाश रसाइली स्नेहीले ५१ प्रतिशत महिला भएको मुलुकको महिला मन्त्रालयका लागि एक प्रतिशत पनि बजेट नछुट्याइनुले कसरी विकास गर्न सकिन्छ भनी प्रश्न गरे ।

सांसद अञ्जना बिसङ्खेले कानुन मन्त्रालयको विषय उठाउँदै कानुन कार्यान्वयनको पाटोमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए । उनले भूमि व्यवस्था मन्त्रालयले भूमि वितरण कसरी गर्नै भन्ने विषयमा कोही पनि गम्भीर नभएको गुनासो गरे । 

सांसद कृष्णभक्त पोखरेलले तीन वर्षभित्रमा भूमिहीन दलित सबैलाई घर दिने भनिए पनि बजेटले स्पष्ट रुपमा सम्बोधन नगरेको बताए । चितवन लगायत जिल्लाका हजारौँ वर्षदेखि बसेका चेपाङ समुदायको जग्गा दर्ताको कुरासमेत आउन नसकेको उनले बताए । उनले भूउपयोग नीतिको कामसमेत हुन नसकेको हिंसा न्यूनीकरणका लागि सामुदायिक सुरक्षा प्रणाली स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए । 

सांसदहरू मैनाकुमारी भण्डारी, लक्ष्मी परियार, विमला विश्वकर्मा, दिव्यमणि राजभण्डारी, सरिता न्यौपाने, पार्वतीकुमारी विशुन्के, प्रेमप्रसाद तुलाचन, शान्ता चौधरीलगायतले छलफलमा भाग लिएका थिए ।  

प्रकाशित मिति: १९:३१ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्