Kathmandu Press

असार १ देखि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने

काठमाडौं, जेठ २३ : निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। असार १ गतेदेखि सो...
असार १ देखि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने

काठमाडौं, जेठ २३ : निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। असार १ गतेदेखि सो कार्यक्रम सञ्चालनमा आउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भएपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो। आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजरमा राखेर आयोगले सो कार्यक्रम पुनः  सञ्चालनमा ल्याएको हो।

 ‘यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्नेछन्,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने विज्ञप्तिमा उल्लेख छ।  त्यस्तै, अब पेशा व्यवसाय गरी अर्को जिल्लामा बसेका व्यक्तिहरूले पनि आवश्यक प्रमाणसहित आफू रहेको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति: १८:५१ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्