Kathmandu Press

‘इम्बोस्ड नम्बर प्लेट राख्न नागरिकलाई धम्काइयो, तत्काल पुनरावलोकन होस्’

जुन कार्यालयले काम गरेन त्यसलाई ताकेता गर्ने हो कि नागरिकलाई तर्साउने ?
‘इम्बोस्ड नम्बर प्लेट राख्न नागरिकलाई धम्काइयो, तत्काल पुनरावलोकन होस्’
फाइल तस्बिर

काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सम्बन्धमा सरकारले नागरिकलाई धम्काएको बताएका छन्। 

कांग्रेसका महामन्त्री समेत रहेका थापाले आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै इम्बोस्ड नम्बर प्लेट लागु गर्ने सम्बन्धमा यातायात मन्त्रालयले तयारी पूरा नगरेको तर नागरिकलाई धम्की दिएर जबरजस्ती गरेको बताएका हुन्। 

उनले एक महिनाभित्र बाँकी रहेका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्न असम्भव रहेको बताए। मंसिर १ देखि नामाकरण टुंगिएका प्रदेशहरुमा गर्ने भनेको काम सम्बन्धित कार्यालयले नगरेको तर त्यसको सजाय नागरिकले पाएको बताउँदै थापाले उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन्। 

‘इम्बोस्ड नम्बर प्लेट लागू किन हुन सकेन भनेर समीक्षा गर्नुपर्ने र सच्याउनु पर्ने ठाउँमा यातायात मन्त्रालयले सजिलो तर गलत बाटो समातेको छ। त्यो भनेको दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने,’ उनले भने,‘ जुन कार्यलयले काम गरेन त्यसलाई ताकेता गर्ने हो कि नागरिकलाई तर्साउने ? 

उनले ठेक्का पाएको कम्पनीले १६ महिनाभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको काम टुंग्याइनुपर्ने नत्र सरकारले रकम ब्यहोर्नुपर्ने भनेकोमा त्यसको सम्भाव्यतामा प्रश्न गरे। ‘दिनको पाँच हजार ५ सय, कसरी सम्भव छ ? राष्ट्रिय परिचय पत्र लिँदा नागरिकले जे सास्ती ब्यहोर्नुपर्यो त्यो भन्दा बढी सास्ती भोग्नुपर्ने अवस्था छ,’ उनले भने।   

उनले इम्बोस्ड नम्बर प्लेट गुणस्तरहिन भएको र भारत तथा छिमेकी  मुलुकहरुको तुलनामा पाँच गुणा बढी पैसा लिएको भन्ने गुनासो समेत आएको बताए। यसलाई समाधान गर्न एक महिनाभित्र बाग्मती र गण्डकीको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय पुनराबलोकन गर्न उनले माग गरेका छन्।

‘जसले सरकारलाई मद्दत गर्नुपरेछ त्यसलाई दण्ड देखाएर एक महिना भित्र गर भनेर सम्भव हुन्छ ? त्यसकारण जबरजस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्, सरकारको मुख रातो हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्