बहिराका पीडा : १५ वर्षीया बहिरा बालिका बलात्कारबाट गर्भवती भएको चार महिनापछि खुल्यो
‘सांकेतिक भाषा नबुझ्ने भएका कारण पीडित प्रहरीकहाँ पुग्दैनन्। सार्वजनिक कार्यालयमा दोभासेको सुविधा नहुँदा बहिराका घटना ओझेलमा परेका छन्।’
काठमाडौं, जेठ २३ : एक वर्षअघि दमकमा १५ वर्षीया बहिरा बालिका बलात्कृत भइन्। ४६ वर्षीय पुरुषबाट उनी बलात्कृत भएको चार महिनासम्म कसैले थाहा पाएनन्। चार महिनापछि, नाबालिग बालिका पेटमा समस्या भयो भनेर रुन थालिन्। अस्पताल पुर्याएपछि थाहा भयो, उनी गर्भवती रहिछिन्। परिवारको सल्लाहमा उनको गर्भपतन गराइयो। पीडित नाबालिग दमकको स्रोत कक्षा (सांकेतिक कक्षा) को छात्रावासमा बसेर कक्षा ६ मा अध्ययन गर्दै थिइन्। विद्यालय बिदा भएका बेला गाउँ जाँदा उनी बलात्कारको सिकार हुन पुगेकी थिइन्।
राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीका अनुसार, बोल्न र सुन्न नसक्ने कतिपय बहिराले आफूमाथि के भएको हो भन्ने बुझ्दैनन्। अर्कोतिर, आफूमाथि भएको हिंसा वा विभेद व्यक्त गर्ने सांकेतिक भाषा समेत जानेका हुँदैनन्।
अध्यक्ष अधिकारी स्वयं बहिरा हुन्। उनले सांकेतिक भाषामा व्यक्त गरेका कुरा हामीलाई दोभासे सागर सुवेदीले नेपाली भाषामा सुनाएका थिए।
अध्यक्ष अधिकारीका अनुसार, बहिरा बालिका मात्र होइन महिला (वृद्धा समेत) यौनहिंसामा परेका छन्। गत वर्ष मोरङकी ६२ वर्षीया बहिरा महिलालाई २८ वर्षीय पुरुषले जबर्जस्ती करणी गरे। बोल्न र सुन्न नसक्ने भए पनि पीडित महिलाले सांकेतिक भाषा जानेकी थिइन्। बहिरा महिला करणीमा परेको खबर पाएर मोरङको कोशी बहिरा संघका प्रतिनिधि पीडितको घरमा पुगे। ‘दोभासेको सहयोगमा पीडित महिलाको पक्षबाट प्रहरीमा उजुरी दियौँ,’ अध्यक्ष अधिकारी भन्छन्, ‘सांकेतिक भाषा समेत नजानेका बहिरा बालिका तथा महिलामाथि हुने थुप्रै घटना सार्वजनिक नै हुँदैनन्।’
बहिरा बालबालिका तथा महिला यौनहिंसामा पर्दा सञ्चारमाध्यम र सम्बन्धित निकायले त्यति चासो नदेखाउने गरेको अध्यक्ष अधिकारी गुनासो गर्छन्। डेढ वर्षअगाडि महोत्तरीमा एक बहिरा युवती बलात्कृत भइन्। उनकी आमा घरबाहिर गएका बेला छिमेकीले घरमै पसेर उनीमाथि जबर्जस्ती करणी गरेका थिए। ‘उक्त घटना भएको डेढ वर्षभन्दा बढी भइसक्यो, पीडक पक्राउ पर्न सकेका छैनन्,’ अध्यक्ष अधिकारीले भने।
सर्लाहीमा डेढ वर्षअगाडि बहिरा युवतीलाई नीलो कपडा लगाएका पुरुषले जबर्जस्ती करणी गरे। पीडित युवती अहिले पनि नीलो कपडा लगाएको मानिस देख्दा तर्सन्छिन्। तर, उक्त घटनाका अभियुक्तलाई अझै कानुन बमोजिम सजाय दिन नसकेको अध्यक्ष अधिकारी बताउँछन्।
दुई वर्षमा २२ घटना, ९ घटना यौनहिंसाका
महासंघले बिहीबार (१२ जेठ) काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुई वर्षभित्र बहिरा नागरिकले भोग्नुपरेका हिंसा र विभेदका २२ घटनालाई सार्वजनिक गरेको थियो। जसमध्ये सबैभन्दा बढी नौवटा घटना यौनहिंसाका र ६ घटना सेवा सुविधाबाट वञ्चितीकरण गरिएका थिए। त्यस्तै, बहिरा नागरिकले आफ्नो पैतृक सम्पत्ति वा अंशबाट वञ्चितीकरणमा परेका तीनवटा घटना यसमा छन्।
अध्यक्ष अधिकारीका अनुसार, ओखलढुंगाका छिरी शेर्पाले बहिरा भएकै कारण परिवारबाट अंश पाउन सकेका छैनन्। छिरीका चार दाजुभाइमध्ये छिरीलगायत तीन भाइ बहिरा छन्। बा–आमाको मृत्युपछि उनीहरूका जेठा दाजुले तीन बहिरा भाइको मृत्यु भएको भनी सबै सम्पत्ति आफ्नो नाममा गरेको छिरी शेर्पाको आरोप छ। ‘अहिले महासंघको सहयोगमा उनीहरू मुद्दा लडिरहेका छन्। समाजमा बहिरालाई हेप्ने प्रवृत्ति हट्न सकेको छैन,’ अध्यक्ष अधिकारी भन्छन्, ‘समाज शिक्षित बन्दै गए पनि बहिराका लागि मुस्किल बढ्दै गएको छ।’
सार्वजनिक गरिएका घटनामध्ये बहिरा व्यक्तिले भोगेको शारीरिक तथा मानसिक यातनाका दुई घटना छन्। अध्यक्ष अधिकारीका अनुसार, १० वर्षका बहिरा बालिकादेखि ६२ वर्षसम्मका बहिरा महिला यौन हिंसामा परेका छन्। यी घटनाको तथ्यांक वा विवरण बहिरा महांसघले आफ्ना शाखामार्फत संकलन गरेको हो। हाल देशभर ५३ वटा जिल्लामा महासंघका शाखा छन्। सार्वजनिक गरिएका घटना महासंघका शाखा तथा महासंघका पदाधिकारी, जनप्रतिनिधिमार्फत बाहिर आएका हुन्। ‘हामीले सार्वजनिक गरेका घटना कमै मात्र सञ्चारमाध्यमका आएका छन्,’ अध्यक्ष अधिकारी भन्छन्, ‘यीबाहेक धेरै घटना समाजमा घटेका छन्। बोल्न नसक्ने तथा सांकेतिक भाषा नजानेका कारणले सम्पर्कमा आउनै सकेका छैनन्। बहिराका घटना सञ्चारमाध्यममा त्यति आएको पाइँदैन।’
समस्या सांकेतिक भाषाको
एक वर्षपहिले मोरङमा १० वर्षीया बहिरा बालिकामाथि स्थानीय पुरुषले यौन दुव्र्यवहार गरे। उक्त घटना लामो समयसम्म बाहिर आउन सकेन।
अध्यक्ष अधिकारी अनुसार, यस घटनामा मोरङकै कोशी बहिरा संघले प्रहरीमा उजुरी दियो। दोषीलाई कारबाही गर्न महासंघले पहल ग¥यो।
त्यस्तै, घाँस काट्न गएका बेला चकलेटको प्रलोभनमा पारी काभ्रेकी ५२ वर्षीया बहिरा महिलालाई एक पुरुषले जबर्जस्ती करणी गरे। ‘यस घटना काभ्रे बहिरा संघको नेतृत्वमा रहेका पदाधिकारीले थाहा पाएपछि बल्ल पीडकलाई कारबाहीको दायरामा ल्याउन सक्यौँ,’ अध्यक्ष अधिकारी भन्छन्, ‘सांकेतिक भाषा नबुझ्ने भएका कारण पीडित प्रहरीकहाँ पुग्दैनन्। सार्वजनिक कार्यालयमा दोभासेको सुविधा नहुँदा बहिराका घटना ओझेलमा परेका छन्।’
पूर्ण अपांगताबाहेक सबैलाई एउटै कानुन
मुलुकी अपराध संहितामा करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी जन्मकैदसम्मको व्यवस्था छ। ‘कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिए पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भए जबर्जस्ती करणी गरेको मानिने’ संहितामा उल्लेख छ।
संहिताको दफा २१९ को उपदफा (३) को (क) मा व्यवस्था छ, ‘दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएमा वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुनेछ।’
यसबाहेक, करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी करणी गर्नेलाई १० देखि २० वर्षसम्मको कैद सजाय संहिताले व्यवस्था गरेको छ।
बहिरा पीडितले कानुन अनुसार न्याय पाउन नसकेको अध्यक्ष अधिकारी बताउँछन्। ‘पूर्ण अपांगता भएकाबाहेक अन्यलाई यौनहिंसामा कानुनी कारबाही एउटै छ,’ उनी भन्छन्, ‘सशक्त महिला पीडित हुँदा आवाज उठ्छ, न्यायका लागि पहल गरिन्छ, बहिराको हकको त्यसो गरेको देखिँदैन।’
उनका अनुसार, बहिरालाई अति अशक्त अपांगता मानिएको छ। सरकारले बहिरालाई ‘ख’ वर्गको नीलो रंगको परिचयपत्र उपलब्ध गराएको छ। ‘तर बहिरा पीडितलाई कानुन बमोजिम न्याय दिनका लागि सहज वातावरण छैन। सरकारी कार्यालयमा बहिराका गुनासो सुन्न दोभासेको व्यवस्था हुनुपर्छ,’ अध्यक्ष अधिकारी भन्छन्, ‘बहिरालाई सांकेतिक भाषा सिकाइनुपर्छ।’











-(7)-1765197040.jpg)
