Kathmandu Press

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

काठमाडाैं, जेठ २२ : नेकपा (एकीकृत समाजवादी) ले आज साँझ नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ...
एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

काठमाडाैं, जेठ २२ : नेकपा (एकीकृत समाजवादी) ले आज साँझ नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएको पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।

सिफारिस भएका मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ। त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उहाँको ठाउँमा केसीलाई ल्याइएको हो।

पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्न सचिवालय बैठकले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएपछि उच्च तहका नेताहरूबीच भएको छलफलबाट नयाँ नाम सिफारिस गरिएको हो। एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो। पार्टीको पहिलेको सहमति बमोजिम नै ६ महिनाका लागि पठाइएको र समयावधि पूरा भएकाले उनीहरूलाई फिर्ता बोलाएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: १९:१८ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्