Kathmandu Press

सन्दर्भ वातावरण दिवस : राजधानीमा फोहाेर नउठ्दा नदी बने प्रदूषित

काठमाडौं, जेठ २२ : राजधानीका सडक, चोक र नदी किनारमा फोहाेर थुप्रिदा त्यो फेरि काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ।राजधानीमा विगत चार महिनादेखि फोहाेरको नियमित...
सन्दर्भ वातावरण दिवस : राजधानीमा फोहाेर नउठ्दा नदी बने प्रदूषित

काठमाडौं, जेठ २२ : राजधानीका सडक, चोक र नदी किनारमा फोहाेर थुप्रिदा त्यो फेरि काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ।राजधानीमा विगत चार महिनादेखि फोहाेरको नियमित व्यवस्थापन हुन सकेको छैन।

फोहाेर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित छ। मानिस दैनिक फोहाेरको थुप्रो पार गरेर सङ्घीय राजधानी काठमाडौँमा यात्रा गर्न बाध्य छन्। राजधानीका जम्मा भएको फोहाेरमध्ये धेरैजसो काठमाडाैं उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक जग्गामा थुपारिएको छ।

यसरी थुपारिएको फोहाेर सिधै नदीमा मिसिने गरेको वातावरणका विषयमा अनुसन्धानमा लागेका गोदावरीका अशोक महर्जन बताउँछन्।

पछिल्लो समय राजधानीको फोहाेर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राखी स्थानीयवासीले लैजान नदिएपछि राजधानी दुर्गन्धित बनेको हो। सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहाेर थुप्रिएको छ। मास्क लगाएका मानिस पनि फोहाेरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ।



सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थलमा फोहाेर गर्नेलाई कानूनी कारबाहीको दायरमा नल्याएसम्म फोहाेरको समस्या समाधान हुँदैन। पछिल्लो समय अभियानकर्मीले फोहाेर फाल्नेलाई कानुनी कारवाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन्।

वाग्मती सफाइ महाअभियानको ४७३ औँ हप्तामा पनि नदी किनारमै फोहाेर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहाेरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी रहेका छन्। फोहाेर नउठे पनि वाग्मती सफाइ महाअभियानले शनिबार ४७३औँ हप्ताको सफाइ कार्यक्रम जारी राख्यो। सफाइबाट चार मेट्रिक टन फोहाेर उठाइएको छ।

उठाइएको फोहाेर लिन काठमाडौँ महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहाेर कार्यालयनजिकको खाली ठाउँमा राखिएको छ। कुहिने फोहाेर भने नदी किनारमै छोड्ने गरिएकाले एकपटक जम्मा गरिएको फोहाेर व्यवस्थापन गर्न नपाउँदा फेरि नदीमै मिसिन थालेको छ।

फोहाेर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीकै भनाइ छ। तैपनि अभियानकर्मी शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ नदी सफाइमा सक्रिय हुँदै आएका छन्।

नदी किनारबाट फोहाेर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहेका सफाइ अभियानकर्मी डा. माला खरेलले जानकारी दिइन्।

यसबीचमा केही समय मात्र फोहाेर उठेको छ। टिपेको फोहाेर व्यवस्थापन नहुँदा हिँड्दैछ पाइला मेट्दैछ भनेझैँ नदी फेरि प्रदूषित हुनेक्रम चलिरहेको छ। महाअभियानले सफाइका क्रममा जम्मा भएको नकुहिने फोहाेर व्यवस्थापन गरे पनि राजधानीवासीका घर घरमा जम्मा भएको फोहाेर नदी किनारमा थुपारिरहँदा नदीमा जति सफाइ गरे पनि फोहाेरमुक्त बनाउन नसकिने अवस्थामा पुगेको अभियानकर्मी खरेलले सुनाइन्।

शनिबार सिनामङ्गलको गुह्येश्वरी माध्यमिक विद्यालय परिसरअघिको नदी किनारमा गरिएको सफाइमा सयौँ अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले बताए।

सफाइका क्रममा नदी किनारमा उम्रिएको झाडी फँडानी गर्नाका साथै घरदैलो गरी चेतना जागरण पनि गरिएको उनको भनाइ छ। जतिपटक आम मानिसमा जागरण फैलाए पनि फोहाेरलाई राजधानीवासीले वर्गीकरण नगर्दा पनि व्यवस्थापनमा समस्या आउने गरेको छ। कुहिने फोहाेरलाई घरमै जैविक मल बनाएर कौसीमा तरकारी खेती गर्न सकिने भए पनि धेरैको यसतर्फ ध्यान जान सकेको छैन।

नौ वर्षदेखिको सफाइ अभियानले सार्थक भएन

नौ वर्षदेखि वाग्मतीलगायत राजधानीका नदी सफाइ अभियान जारी छ। २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी पनि सफाइ अभियान पनि सुरु गरिएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ। राजधानीमा जति स्थानमा सफाइ भए पनि फोहाेर व्यवस्थापन नहुँदा अभियानबाट केही हुन नसकेजस्तो सन्देश गएको छ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ। गुह्येश्वरीमाथिको वाग्मतीलगायत यसका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ अभियान चलिरहेको जनाइएको छ।

ललितपुरको गोदावरी र भक्तपुरको हनुमन्ते खोलामा पनि सफाइ अभियान जारी छ। अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको भने हुनुपर्नेजति सहयोग भएको छैन। फोहाेर व्यवस्थापन गर्नु स्थानीय सरकारकै दायित्व भएपनि यसमा रुचि देखाइएको छैन।

देशको राजधानी काठमाडौँ उपत्यकामा चार महिनाभन्दा लामो समयदेखि फोहाेर उठेको छैन। सांस्कृतिक सहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहाेर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ। यसले पर्यटन व्यवसाय धराशायी बन्ने चिन्ता बढाएको छ।

पछिल्लो समय पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहाेर व्यवस्थापनमा समस्या आएको गुनासो बढ्न थालेको छ। फोहाेर व्यवस्थापनमा स्थानीय सरकार मौन बसेका छन्। फोहाेर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन्। काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहाेर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन्।

स्थानीय सरकार फोहाेर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन्। केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका थिए।

२०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहाेर व्यवस्थापनलाई प्राथमिकतामा राखेनन्।स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि राजधानी काठमाडौँमा फोहाेर व्यवस्थापनको विषयमा बहस चलेको छ।

महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह पछिल्लो समय फोहाेर व्यवस्थापनका समस्या समाधानका लागि लाग्नुभएको छ। फोहाेर समस्या समाधान गरेर देखाउने उनको प्रतिबद्धता छ। यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहाेर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका थिए।

अभियानकर्मी कञ्चन राउतका अनुसार निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको छ। दललाई तिनका प्रतिबद्धता सम्झाउन सचेत नागरिकले दबाबमूलक अभियान जारी राख्नुपर्ने उनको भनाइ छ।

महानगर प्रमुख शाहले भने फोहाेर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको र पहिलो कार्यपलिकाको बैठकदेखिकै बहसले देखाएको छ।

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्