Kathmandu Press

मन्त्री फिर्ता बोलाउने विषयमा एकीकृत समाजवादीमा छलफल

काठमाडौं, जेठ २२ : नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ।पार्टीको सचिवालयको दोस्रो दिन आइतबार बिहान बसेको...
मन्त्री फिर्ता बोलाउने विषयमा एकीकृत समाजवादीमा छलफल

काठमाडौं, जेठ २२ : नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ।

पार्टीको सचिवालयको दोस्रो दिन आइतबार बिहान बसेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए।

‘पहिला ६ महिनाका लागि पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो, त्यो विषयमा बैठकमा कुरा उठेको हो,’ उनले भने, ‘उहाँहरूको कामको समीक्षा हुन्छ। उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गेर पनि समझदारी बनाउनुहुनेछ। फिर्ताबारे निर्णय नै चाहिँ भइसकेको छैन।’उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय भए सबैले मान्नुपर्नेसमेत बताए।

पार्टीले फिर्ता बोलाएको अवस्थामा स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको राज्यमन्त्रीबाट हट्नेछन्। 

मन्त्री फिर्ता गरिएको अवस्थामा रिक्त ठाउँमा कसलाई पठाउने भन्ने विषयमा कुनै सूचना सार्वजनिक भएको छैन।

त्यस्तै उनले वाम एकता राम्रै कुरा भएको भए पनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरे। तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बर्बादीतर्फ लान नहुने बताए।

सचिवालय बैठकले पार्टीका सवै कमिटीहरुलाई प्राकृतिक बिपतको पूर्वतयारीका लागि परिचालन गर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै विपद व्यवस्थापनमा परिचालित हुन केन्द्रदेखि वडासम्मका नेताकार्यकर्तालाई परिचालित गर्ने निर्णय भएको पनि उनले बताए।
‘यसवर्ष पनि मनसुनी विपद् हुनसक्ने देखिन्छ। मौसविद्हरूले औषधभन्दा बढी वर्षा हुन्छ भनिरहेको अवस्था छ,’ उनले भने, ‘त्यसका लागि हामीले पार्टीका केन्द्रीय नेताहरूदेखि संगठित सदस्यसमेत गरेर सबै तहका कमिटीलाई पूर्व तयारीमा खटाउँछौं।’

उनले विपद् निम्तिएको अवस्थामा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाको काममा पनि पार्टीपंक्तिलाई परिचालन गरिने जानकारी दिए। 

समाजवादीले छिटै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय परिषद्को बैठक बोलाउने तयारी भइरहेको जनाएको छ।

प्रकाशित मिति: १४:३५ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्