रोहिणी खोला दुर्घटनामा मृतक चार जनाको सनाखत
रुपन्देही, जेठ २३ : रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ।आज बिहान जनकपुरबाट भैरहवा आउँदै...
रुपन्देही, जेठ २३ : रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ।
आज बिहान जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस परासीको हुलाकी राजमार्ग अन्तर्गत रोहिणी खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा नौ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका छन्।
घाइतेलाई भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल र भीम अस्पताल लगिएको थियो। युनिर्भसलमा पाँच जनाको र भीम अस्पतालमा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
युनिर्भसल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पाँचमध्ये तीन जनाको र भीम अस्पतालमा मृत्यु भएको चारमध्ये एक जनाको पहिचान खुलेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिचान भएकामा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन्।
घाइते २४ जनाको उपचार चलिरहेको छ। उनीहरुमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। बस पुलको बार भाँचेर खोलामा खसेको थियो।








-1787140035.png)


