Kathmandu Press

विद्युतीय सामान र इको यातायातको प्रयोग गर्न राष्ट्रपतिको आह्वान

विद्युतीय सामान र इको यातायातको प्रयोग गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं, जेठ २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (५ जुन) का अवसरमा शुभकामना व्यक्ति गरेकी छन्।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको उल्लेख गरिएको छ। प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको जनाइएको छ।

सन्देशमा जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा हामी प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ भन्ने मूल विषयमा आधारित भई यस वर्षको विश्वातावरण दिवस मनाइरहेको उल्लेख छ।

यससँगै पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतीको रूपमा रहेको बताइएको छ।

'वातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरमा विभिन्न नीति योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरूसमेत निर्माण गरेका छौँ। हाम्रा राष्ट्रिय प्रतिबद्धताहरू विभिन्न समयमा अभिव्यक्त भएका छन्,' राष्ट्रपतिले भनेकी छन्, 'नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्, हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ। हाम्रोजस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको सङ्कटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको सङ्कट झेल्नु परिरहेको छ।'

वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको राष्ट्रपतिले बताएकी छन्।

प्रकाशित मिति: ०६:४७ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्