प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता
काठमाडाैं, जेठ २१ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको छ।आज...
काठमाडाैं, जेठ २१ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको छ।
आज (शनिबार) दिउँसो लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएपछि ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनीहरूबीच कात्तिक-मंसिरमा हुने संघ र प्रदेशको चुनावमा कसरी जाने भन्नेबारेमा छलफल भएको बताइएको छ।
त्यसैगरी विगतदेखि नै पार्टीले राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्तालगायतका मागका बारेमा पनि छलफल भएको जनाइएको छ।
आगामी निर्वाचनमा सत्ता पक्षसँग सहकार्यका लागि यिनै मुद्दा लोसपाले अगाडि सार्ने बुझिएको छ।
प्रधानमन्त्री देउवाले ठाकुरलाई भेटवार्ताका लागि बोलाएको लोसपा स्रोतले जनाएको छ। विजुलीबजारस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको लोसपाको बैठकमा ठाकुरले आफू प्रधानमन्त्री देउवालाई भेट्न जान लागेको र त्यहाँ लोसपाले विगतदेखि उठाउँदै आएका मागबारे कुरा राख्ने जानकारी दिएको नेताहरुले बताए।
यसैबीच लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ। बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारे छलफल हुने बताइएको छ।








-1787140035.png)


