Kathmandu Press

राजदूतहरूको विज्ञप्ति आन्तरिक मामिलामा अनावश्यक चासोः प्रचण्ड

चितवन, माघ २४ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका विषयमा विभिन्न देशका राजदूतहरूले जारी गरेको विज्ञप्ति आन्....

राजदूतहरूको विज्ञप्ति आन्तरिक मामिलामा अनावश्यक चासोः प्रचण्ड

चितवन, माघ २४ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका विषयमा विभिन्न देशका राजदूतहरूले जारी गरेको विज्ञप्ति आन्तरिक मामिलामा अनावश्यक चासो भएको बताएका छन् ।

बिहीबार चितवन पुगेका प्रचण्डले संचारकर्मीसँग कुराकानी गर्दै शान्ति प्रक्रियाको काम अगाडि बढिरहेको बताए । “नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन । सबै राजनीतिक दलहरुबीचमा सहमति नै छ । ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित विषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा छ,” पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।

उनले युरोपियन यूनियन लगायत विभिन्न देशका राजदूतहरुले जारी गरेको विप्तीलाई अनावश्यक चासोको संज्ञा दिए । “नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति हो,” नेकपा अध्यक्ष प्रचण्डले भने ।

त्यस्तै, भेनेजुयलासम्बन्धी सोधिएको प्रश्नमा पनि उनी अडिग देखिए । नेकपा सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने उनको भनाइ थियो ।

उनले नेकपाको सबै संगठनका एकता प्रक्रिया ढिलो भएको स्वीकार्दै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताए ।

 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, माघ २४, २०७५