तीस वर्षभित्र १५ करोड मानिस बस्दै आएका क्षेत्र ढुवानमा पर्ने नयाँ अध्ययनको निष्कर्ष
नयाँ अनुसन्धान अनुसार बढ्दो सामुद्रिक सतहले सन् २०५० सम्म यसअघि अनुमान गरिएभन्दा धेरै मानिस प्रभावित हुनेछन्।
सबैलाई खतरा भए पनि विश्वका केही ठूला तटीय शहर ब....
नयाँ अनुसन्धान अनुसार बढ्दो सामुद्रिक सतहले सन् २०५० सम्म यसअघि अनुमान गरिएभन्दा धेरै मानिस प्रभावित हुनेछन्।
सबैलाई खतरा भए पनि विश्वका केही ठूला तटीय शहर बिलाउने छन्। अनुसन्धाताहरूले स्याटेलाइट मापनको आधारमा जमिनको उचाइँ पत्ता लगाउने अझ सहि तरिकाको विकास गरेका छन्।
ठूलो क्षेत्रमा सामुद्रिक सतह बढ्नुको प्रभाव अनुमान गर्ने यो एउटा मापदण्ड हो। यस क्रममा अनुसन्धाताहरूले अघिल्ला तथ्याङ्कहरू सहि नभएको पत्ता लगाएका छन्। नयाँ अनुसन्धानले करिब १५ करोड मानिसहरू यस्तो जमिनमा बसिरहेका छन् जो शताब्दीको मध्यसम्म ज्वारमुनि हुनेछन्।
दक्षिण भियतनाम पुरै डुब्नसक्छ।
पहिलो नक्साले पहिले सन् २०५० सम्म डुब्ने अनुमान गरिएका शहरहरू देखाउँछ। दोस्रो नक्साले देशको तल्लो भाग ज्वारमुनि डुब्ने देखिएको छ।
भियतनाममा दुई करोडभन्दा धेरै मानिसहरू अर्थात एक चौथाइ जनसंख्या बाढीले डुब्ने स्थानमा बस्छन्। देशको आर्थिक केन्द्र हो चि मिन्ह सिटीको अधिकांश भाग हराउनेछ। न्यूजर्सीस्थित क्लाइमेट सेन्ट्रल नामक संस्थाले नेचर कम्युनिकेसन नामक जर्नलमा प्रकाशन गरेको अनुसन्धान अनुसार यो प्रक्षेपणले भावी जनसंख्या वा तटीय क्षेत्रको क्षयीकरणलाई भने समावेश गरिएको छैन।
स्याटेलाइट प्रयोग गरेर “स्ट्यान्डर्ड एलिभेसन मेजरमेन्ट” गर्दा रूख वा भवनका टुप्पाबाट वास्तविक सामुद्रिक सतहको भिन्नता पत्ता लगाउन कठिन हुने क्लाइमेट सेन्ट्रलका अनुसन्धाता स्कट ए. कल्पले बताए। त्यसैले क्लाइमेट सेन्ट्रलका कार्यकारी प्रमुख बेञ्जामिन स्ट्रससँग मिलेर उनले आर्टिफिसियल इन्टेलिजेन्सलाई त्रुटिको दर निर्धारण गर्न त्यसलाई सच्याउन प्रयोग गरे।
थाइल्यान्ड १० प्रतिशतभन्दा धेरै नागरिकहरू सन् २०५० सम्म डुब्ने जमिनमा बस्छन्। अघिल्लो विधि अनुसार एक प्रतिशत मात्रै बस्ने गरेको अनुमान गरिएको थियो। राजनीतिक र आर्थिक राजधानी बैंककमा धेरै क्षति हुनेछ।
जलवायु परिवर्तनले ती शहरहरूमा धेरै तरिकाले दबाब दिने लोरेट्टा हिबर जिरार्डेटले बताइन्। उनी बैंककमा बस्छिन् र संयुक्त राष्ट्र संघमा जोखिम न्यूनीकरण अधिकारीको रूपमा काम गर्छन्। ग्लोबल वार्मिङले विश्वभरिका स्थानमा बाढी आउनेछ भने गरिब कृषकलाई शहरमा काम खोज्न बाध्य बनाउनेछ।
“यो एउटा भयङ्कर सुत्र हो,” उनले भनिन्।
सांघाई एशियाको सबैभन्दा महत्वपूर्ण आर्थिक क्षेत्र हो। सांघाई र वरपरका अन्य धेरै शहर डुब्ने जोखिममा छन्। नयाँ तथ्याङ्कले ११ करोड मानिसहरू ज्वारभाटामुनि डुब्ने जोखिममा रहेको देखाउँछ। स्ट्रसका अनुसार यहाँ तटबन्ध र अन्य उपायहरू आवश्यक छन्। यस्तो उपायका लागि शहरहरूले धेरै लगानी गर्नुपर्छ र चाँडो पनि।
तर लगानी जुटे पनि रोकथामका उपायहरू असफल हुनसक्छन्। स्ट्रसले न्यूओर्लियन्सको उदाहरण पेश गरे। सन् २००५ मा सामुद्रिक आँधी कटरिना आउँदा यो शहर सामुद्रिक सतहमुनि डुबेको थियो।
“हामी कति डुब्न चाहन्छौं?” उनी सोध्छन्।
नयाँ प्रक्षेपण अनुसार भारतको आर्थिक राजधानी तथा विश्वकै ठूलो शहरमध्ये एक मुम्बई हराउने जोखिममा छ। कुनै समय टापुहरूको श्रृङ्खला रहेको स्थानमाथि बनेको यो शहरको ऐतिहासिक केन्द्र अझ जोखिममा छ।
समग्रमा ती देशहरूले आन्तरिक रूपमै स्थानान्तरण गर्ने तयारी सुरू गर्नुपर्ने असुन्धानले देखाएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) का डिना लोनेस्कोले बताइन्। संस्थाले आप्रवासी र विकासका कार्य संयोजन गर्ने अन्तर्राष्ट्रिय सरकारी समूह हो।
“हामी सबैलाई सचेत बनाउने प्रयास गरिरहेका छौं,” लोनेस्कोले भनिन्, “हामीलाई थाहा छ, यस्तो हुनेछ।” यति ठूलो परिमाणको बसाइँसराइँको आधुनिक नजिर नभएको उनले बताइन्।
साँस्कृतिक सम्पदा हराए अर्कै विपत्ति आउने छ। इ. पू. करिब ३३० मा सिकन्दर महानले स्थापना गरेको इजिप्टको अलेक्जेन्ड्रिया डुब्नसक्छ। अन्य स्थानमा पानीको बढ्दो सतहले निम्तिने प्रवासनले क्षेत्रीय द्वन्द्व सुरू हुन वा अझ गम्भीर बन्नसक्छ।
इराकको दोस्रो ठूलो शहर बसरा पनि सन् २०५० सम्म डुब्नसक्छ। यस्तो भए इराकको सीमापारी पनि त्यसको प्रभाव पर्ने मरिन कोर्प्सका अवकाशप्राप्त लेफ्टिनेन्ट जर्णेल न क्यास्टेलले बताए। इराक युद्धको समयमा उनी युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डका प्रमुख थिए।
पानीको सतह बढ्नाले हुने जमिनको क्षतिले “त्यस क्षेत्रको सामाजिक र राजनीतिक अस्थिरता अझ बढ्नसक्ने तथा यसले सशस्त्र द्वन्द्वलाई फेरि सुरू गर्नसक्ने र आतकंवाद पनि बढाउने सक्ने” जर्णेल क्यास्टेल बताउँछन् । उनी हाल वाशिङ्टनस्थित अनुसन्धान तथा पैरवी समूह सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटीको सल्लाहकार बोरुडमा छन्।
“यो वातावरणीय समस्याभन्दा धेरै ठूलो छ,” उनले भने,“यो मानवीय, सुरक्षा र सम्भवत: सैन्य समस्या पनि हो।”