भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन

काठमाडाैं, जेठ २० : भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ। समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो।
षडानन्द नगरपालिकामा सबैभन्दा बढी रु ५१ करोड ५२ लाख र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा रु २४ करोड ५५ लाख बजेट विनियोजन भएको छ। त्यसैगरी भोजपुर नगरपालिकामा रु ४६ करोड ४९ लाख,अरुण गाउँपालिकामा रु ३१ करोड आठ लाख,आमचोक गाउँपालिकामा रु ३१ करोड ९८ लाख र टेम्केमैयुङ गाउँपालिकामा रु ३८ करोड ६६ लाख बजेट आएको छ।
पौवादुङमा गाउँपालिकामा रु ३० करोड १४ लाख, रामप्रसादराई गाउँपालिकामा रु ३१ करोड ६५ लाख र हतुवागढी गाउँपालिकामा रु २९ करोड ८२ लाख बजेट विनियोजन गरेको हो। अहिले केन्द्र सरकारबाट विनियोजन भएको बजेट आएको भए पनि अब प्रदेश सरकार र आन्तरिक आयलाई जोडेपछि सबै स्थानीय तहको अन्तिम बजेट तयार हुने पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।
देशभरका स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत रु तीन खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन्। स्थानीय तहले समानीकरण अनुदानअन्तर्गत रु एक खर्ब २३ करोड बजेट पाएका छन्। सःशर्त अनुदानतर्फ स्थानीय तहले रु एक खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन्। समपूरक अनुदानका लागि स्थानीय तहलाई रु सात अर्ब २७ करोड बजेट विनियोजन भएको छ। विशेष अनुदानतर्फ स्थानीय तहलाई रु नौ अर्ब १४ करोड विनियोजन भएको छ।










-1787140035.png)
