झापाले जित्यो सी डिभिजन लिग, प्लानिङ बोइज बी डिभिजनमा
झापा, जेठ २० : झापा एफसीले सी डिभिजन लिग उपाधि जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ ले हराउँदै झापाले...
झापा, जेठ २० : झापा एफसीले सी डिभिजन लिग उपाधि जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ ले हराउँदै झापाले लिग उपाधि जितेको हो।
झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे भने यस्तै मनिष लिम्बु र पुजन राईले पनि गोल गरे। स्वयम्भूका पाल्साङ लामा र राजिब मगरले गोल फर्काए।
लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। अन्तिम खेल अघि नै झापा बी डिभिजनमा बढुवा भइसकेको थियो।
यसैगरी प्लानिङ बोइज क्लब पनि बी डिभिजनमा बढुवा भएको छ। लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको ओसिस क्लबलाई ५–०को फराकिलो अन्तरले अराउँदै प्लानिङ दोस्रो डिभिजनमा बढुवा भएको हो।
प्लानिङ ब्वाइजका लागि फागुराम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुनकुमार राना र ओमप्रकाश चौधरी एक–एक गोल गरे। प्लानिङ ब्वाइजले लिगको १३ खेलमा ९ जित र चार बराबरी खेल्यो। यो टिम लिगमा अपराजित एकमात्र टिम हो।
यता, सुर्खेतको आरसी ३२ पनि भने तेस्रो स्थानमा रहँदै बी डिभजिनमा बढुवा हुन असफल भयो। अन्तिम खेलमा उ साँगा स्पोर्टस एकेडेमीसँग गोलरहित बराबरीमा रोकियो। १३ खेलमा ९ जित, २ बराबरी र २ हारको सामाना गरेको आरसीले २९ अंक जोड्यो।











