Kathmandu Press

‘सरकारले ल्याउने विधेयकमा बलात्कार घटनामा हदम्याद हटाइयोस्’

काठमाडौं, जेठ २० : नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले यौन हिंसा विरुद्धको केही ऐनलाई संसोधन गर्ने विधेयक २०७९ मा बलात्कार घटनाको हदम्याद...
‘सरकारले ल्याउने विधेयकमा बलात्कार घटनामा हदम्याद हटाइयोस्’
फाइल फाेटाे

काठमाडौं, जेठ २० : नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले यौन हिंसा विरुद्धको केही ऐनलाई संसोधन गर्ने विधेयक २०७९ मा बलात्कार घटनाको हदम्याद हटाउने प्रावधान राख्न सुझाव दिएकी छन्।

प्रतिनिधि सभा बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै भुुसालले जबरजस्तीकरणीका घटनामा कैद सजाय बढाउने, पीडितलाई क्षतिपूर्ति दिने प्रावधान सकारात्मक भएको बताइन्। 

झुट्टा मुद्दा लगाउने र बलात्कार घटनामा मेलमिला गराउनेलाई समेत कारवाहीको दायरामा ल्याउने भनिएका कारण विधेयक सकारात्मक भएको बताइन् । तर, बलात्कार घटनामा पीडितले उजुरी दिने हदम्याद राख्दा पीडकले उन्मुक्ति पाउने भएका कारण हदम्याद हटाउनुपर्ने उनले बताइन्। 

विश्वका १५ मुलुकले बलात्कारलाई जघन्य अपराध मान्दै हदम्याद नराखेको र अमेरिका लगायतका देशहरुले पनि ३० वर्षसम्मको हदम्याद राखेको उदाहरण दिँदै भुसालले एक वर्ष वा त्योभन्दा कम हदम्याद राख्ने मुलुक विश्वमै दुईवटा मात्रै रहेको बताइन् । 

‘इराक र नेपाल मात्रै त्यस्तो देश हो जहाँ बलात्कार जस्तो जघन्य अपराधको घटनामा पनि एक वर्षको हदम्याद राखिएको छ,’ उनले भनिन्,‘ जबसम्म हदम्याद राखिन्छ तबसम्म पीडितले न्याय पाउँदिनन् । पीडकले उन्मुक्ति पाउँछन्।’

उनले बलात्कार घटनाका पीडितलाई क्षतिपूर्ति मात्रै होइन पीडितको क्यारियर विकासका लागि पनि अवसर उपलब्ध गराउनुपर्ने बताइन्। 
    
 

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्