Kathmandu Press

बजेट महत्वकाङ्क्षी नभई वास्तविक हो : अर्थमन्त्री शर्मा

काठमाडौं, जेठ २० : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका...
बजेट महत्वकाङ्क्षी नभई वास्तविक हो : अर्थमन्त्री शर्मा

काठमाडौं, जेठ २० : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उहाँले बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गरे।

अर्थमन्त्री शर्माले चालू आवको तुलनामा आगामी आवको बजेट ९।८६ प्रतिशतले मात्रै बढी भएकाले यसलाई महत्वाकाङ्क्षी भन्न नमिल्ने बताए। उनले संविधान र सङ्घीयताको मर्मलाई मध्यनजर गरी बजेट तर्जुमा गरिएको धारणा राखे।

कृषि क्षेत्रमा प्रोत्साहन, बाँझो जमिनको सदुपयोग र युवालाई कृषिमा आकर्षण गर्न बजेटले कार्यक्रम समावेश गरेको उहाँले जानकारी दिए । किसानलाई आत्मसम्मानका साथ उत्साहित गर्नुपर्ने भएकाले योगदानमा आधारित किसान हितकोषको व्यवस्था गरिएको र बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको उनले उल्लेख गरे।

उपलब्ध स्रोत, साधन, पुँजी र प्रविधिलाई जोडेर तीव्र उत्पादनतर्फ देशलाई लैजाने आजको आवश्यकता भएकाले सोहीअनुरुप बजेट तर्जुमा गरिएको मन्त्री शर्माले बताए। उत्पादनमूलक उद्योग, निर्यात प्रवद्र्धनलगायत विषयलाई बजेटले समेटेको पनि उनले जानकारी दिए।

अर्थमन्त्री शर्माले निर्वाचन हुने वर्ष भए तापनि संविधानतः सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट पेश गर्नुपर्ने भएकाले सो दायित्व निर्वाह गर्दै बजेट ल्याइएकाले निर्वाचनवपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने विश्वास व्यक्त  गरे । उनले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व सङ्कलन पनि सन्तोषजनक रहेको बताए। 

उनले आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गरे। उनले चालू आवमा वैदेशिक सहायता उत्साहप्रद्र्धक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने अपेक्षा गरे।

उनले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने भन्दै कृषकलाई मलको अभाव हुन नदिने बताए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलगायत ठूला पूर्वाधार आयोजना यसैवर्ष सुरु गरिने उहाँले प्रतिबद्धता जनाए।

उनले पर्यटन क्षेत्रको पुनरुत्थान, लगानीमा सहुलियत, कृषि, वन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे। मन्त्री शर्माले शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिई प्राविधिक र भौतिक सुधारलाई जोड दिइएको बताए। 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्