गोकुल बाँस्कोटाको प्रश्न : सरकारले रुस–युक्रेन युद्ध भर्खर थाहा पायो ?
काठमाडौं, जेठ २० : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकार कसको नीति अनुसार चलेको भन्ने कुरा अझै स्पष्ट नभएको बताएका छन्। शुक्रबार संसदमा पेस भएको...
काठमाडौं, जेठ २० : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकार कसको नीति अनुसार चलेको भन्ने कुरा अझै स्पष्ट नभएको बताएका छन्।
शुक्रबार संसदमा पेस भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै बाँस्कोटाले सरकार व्यवस्थापक, नियमनकर्ता र व्यापारी नभइ रमिते मात्रै भएको बताए।
उनले मूल्यवृद्धि उत्कर्षमा पुग्दा सरकार चीर निन्द्रामा सुतेको समेत आरोप लगाए। रुस–युक्रेन युद्ध र त्यसको असरबारे सरकारले पूर्वतयारी र योजना नबनाएको उनको आरोप छ ।
‘युक्रेन र रुसको युद्ध भएको कुरा भर्खर थाहा पायो ? सरकारलाई यो थाहा थिएन कि अमेरिकाले समेत ४५ अर्बको तेल रुससँगै किन्यो भन्ने कुरा थाहा पाएन ? अहिले पनि २ प्रतिशत क्रुड आयल रुसबाटै भारतले किन्यो भन्ने कुरा थाहा भएन ? मूल्यवृद्धि बढ्छ, यसको चेन असर पर्छ भन्ने कुरा थाहा भएन?’ उनले प्रश्न गरे,‘ प्रिभेन्सनको कुनै उपाय किन अपनाइएन ? त्यो विषयलाई किन बेमतलव किन गरियो?’
पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धिका कारण अन्य क्षेत्रमा पनि गम्भीर असर पुग्ने बाँस्कोटाले बताए । ‘यसको असर हामीसँग चामल छ भने पनि कर्णालीमा पठाउन सकिँदैन,’ उनले भने।
उनले पहिलेपहिले एक रुपैयाँ वृद्धि हुँदा समेत मण्डला तात्ने गरेकोमा अहिले आइओसी र अटोमेसनलाई न्यारेटिभ बनाएर सरकार दायित्वबाट उम्कन खोजेको आरोप लगाए।
इन्धन र खाद्यान्नमा चर्को मूल्यवृद्धिका कारण सञ्चित डलर सकिने र अबको दुई चार महिनामै मुलुक श्रीलंका बन्ने खतरा रहेको उनले बताए। ‘पेट्रोल र खाद्यान्नमा सबैभन्दा बढी सञ्चित डलर बाहिर गइरहेको छ । अर्थशास्त्रीले आशंका गरेको कुरा सहि हुन जान्छ । डलर सक्किन्छ र हामी श्रीलंका हुन पुग्छौ,’ उनले भने ।
उनले स्रोत साधनको सदुपयोग र चुहावट कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सरकारले मतलब नगरेको आरोप लगाए।










-1787140035.png)
