Kathmandu Press

पूर्वाधार कर छुटबाहेक थप मूल्य घटाई जनतालाई सहुलियत दिनुपर्छ : गगन थापा

काेरोना संक्रमण, रुस–युक्रेन युद्धलगायत कारणले पेट्रोलियम पदार्थका मूल्यवृद्धि भएको र आगामी दिनमा त्यो झनै चुनौतीपूर्ण बन्दै जाने हुनाले यसबारे गहन रूपमा सोच्नुपर्ने उनको भनाइ थियो।
पूर्वाधार कर छुटबाहेक थप मूल्य घटाई जनतालाई सहुलियत दिनुपर्छ : गगन थापा

काठमाडौं, जेठ २० : कांग्रेस सांसद गगन थापाले पेट्रोलियम पदार्थमा पूर्वाधार कर हटाएर मात्र नपुग्ने भएकाले त्यसबाहेक अन्य तरिकाले थप मूल्य घटाई जनताले सहुलियत महसुस गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै उनले अहिलेको पूर्वाधार कर छुटले मात्र जनताको समस्या समाधान नहुने भएकाले जनताले सहुलियत महसुस गर्नेगरी अझै मूल्य घटाउनुपर्ने आवश्यकता औंल्याए।

‘पूर्वाधार कर हामीले हटायौं, पूर्वाधार कर कसले लगायो भनेर खोजी गरे धेरै कुरा खुल्छ। अहिले त्यतातिर नलागौं,’ कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने, ‘सडक निर्माण कर छ। अन्य केके कुरा हुन सक्छन्। तर अहिले तत्काल जनताले सहुलियत महसुस गर्नेगरी मूल्य घटाउनु आवश्यक छ।’ 

काेरोना संक्रमण, रुस–युक्रेन युद्धलगायत कारणले पेट्रोलियम पदार्थका मूल्यवृद्धि भएको र आगामी दिनमा त्यो झनै चुनौतीपूर्ण बन्दै जाने हुनाले यसबारे गहन रूपमा सोच्नुपर्ने उनको भनाइ थियो। ‘कोभिड र रुस–युक्रेन युद्धको प्रभावले पेट्रोलियम पदार्थका मूल्यवृद्धि भएको छ। आउँदा दिनहरू अझ चुनौतीपूर्ण छन्। यसलाई हल्का रूपमा नलिन म प्रधानमन्त्रीसमक्ष आग्रह गर्छु,’ थापाले भने, ‘युद्धको जस्तो सोच राखेर वार स्पिरिटमा काम गर्नु आवश्यक छ।’ 

उनले अहिले एक साताका लागि मात्र स्टोरेज क्यापासिटी रहेको भन्दै क्रुड आएल किनेर प्रशोधन गर्दा थप महँगो पर्ने पनि बताए। उनले नेपाललाई पेट्रोल, डिजेल, एलपीजी मुक्त देश बनाउनतर्फ आजैदेखि लाग्न पनि सुझाए। त्यसका लागि १० वर्षे महत्त्वाकांक्षी घोषणा गर्न पनि पछि हट्न नहुने उनको भनाइ थियो।

प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्