Kathmandu Press

साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

काठमाडौं, जेठ २० : साउन १ गतेभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जाडन नभए साउन १ गतेबाट कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

वागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४)  मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ ।

प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न ०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो । “सवारीहरुमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानुन बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएकोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ,” विभागले भनेको छ ।  

वाग्मती प्रदेशको एकान्तकुना–ललितपुर र गुर्जुधारा–काठमाडौं र गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएको विभागले जनाएको छ ।

०७९ साउन १ गतेपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागले जनाएको छ । 

प्रकाशित मिति: ०८:३३ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्