बढुवाका लागि शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ : आइजिपी सिंह
काठमाडाैं, जेठ १९ : प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले बढुवाका लागि शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिने बताएका छन्।उनले प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेको एक महिना पुगेको...
काठमाडाैं, जेठ १९ : प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले बढुवाका लागि शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिने बताएका छन्।
उनले प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आज (बिहीबार) प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले गलत काम गर्ने प्रहरीमाथि समेत कारबाही सुरु गरिएको जानकारी दिँदै बढुवाको हकमा मेरिट बेसमा गरिने बताए।
‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन। ब्याचमा बेस्ट भएका अगाडि आउँछन्,’ आइजिपी सिंहले भने, ‘सोर्सफोर्सले बढुवा हुँदैन। शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिनेछ।'
उनले आफ्नो कार्यकालमा निर्मला हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकता दिने र सकेसम्म आफ्नो कार्यकालमै त्यसलाई टुंगोमा पुर्याउन प्रयास गर्ने बताए।
निर्मला हत्याकाण्ड भएको चार वर्ष पुग्न लागेको छ। तर आरोपितमाथि अनुसन्धान जारी रहे पनि अभियुक्त अहिलेसम्म पक्राउ पर्न सकेको छैन।
२०७५ साउन १० गते कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो। उनको बलात्कारपछि हत्या भए पनि घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना हुने गरेको छ।
सो अवसरमा सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भ्रातृत्वभावको विकास गर्दै नागरिकका सेवाका साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्नेमा जोड दिए।
उनले कामप्रतिको प्रतिबद्धताको अझै बढी खाँचो रहेको बताउँदै प्राप्त चुनौती र अवसरलाई आफ्नो वृत्ति विकासको एक हिस्साको रूपमा लिई अगाडि बढ्नुपर्ने बताए।











-1787140035.png)