Kathmandu Press

‘बजेट कस्तो छ ? गफै त हो नि सम्धी भनेजस्तो छ’

बजेटविनाका यतिधेरै कार्यक्रमहरु छन्, त्यो व्याख्या गरिसाध्य छैन। त्यसैले यो बजेट ‘गफै त हो नी सम्धी’ भनेजस्तै छ।
‘बजेट कस्तो छ ? गफै त हो नि सम्धी भनेजस्तो छ’

काठमाडौं, जेठ १९ : नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले वर्तमान सरकारले ल्याएको बजेटमा योजनाभन्दा बढी गफ रहेको बताएकी छन् । उनले बजेटमा कार्यक्रमहरु धेरै ल्याइएको तर आवश्यक बजेट विनियोजन नभएको बताएकी हुन्। 

बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले भनिन्– बजेटविनाका यतिधेरै कार्यक्रमहरु छन्, त्यो व्याख्या गरिसाध्य छैन। त्यसैले यो बजेट ‘गफै त हो नी सम्धी’ भनेजस्तै छ।

उनले कृषिको क्षेत्रमा पनि अध्ययन, छलफल र तथ्यांकलाई बेवास्ता गर्दै हचुवाका भरमा बजेट ल्याएको बताइन्। कृषि मन्त्रालयले आगामी वर्षका लागि योजना र रणनीति बनाइसकेको अवस्थामा मन्त्रालयको योजना र रणनीतिलाई बजेटले सम्बोधन गर्न नसकेकेको बताइन्। 

कृषिमा उत्पादन र उत्पादकत्व बढाउन भनेर विभिन्न योजनाहरु उल्लेख गरिएपनि कार्यान्वयनका चुनौतीका बारेमा भने बजेट मौन रहेको बताइन् । त्यस्तै आयात प्रतिस्थापनका लागि तथ्यांकको अध्ययन नगरेको बताइन्। ‘अघिल्लो  वर्षको तुलनामा खाद्यवाली  र फलफुलको उत्पादन वृद्धीदर घटेको छ कसरी आयात प्रतिस्थापन हुन्छ ?’ उनले प्रश्न गरिन् 

अर्यालले बजेटमा पूर्वाग्रह राखिएको पनि बताइन् । यसअघिको सरकारले सिद्धार्थ  र कोहलपुर राजमार्ग विस्तार र स्तरोन्नती गर्न ७ अर्ब विनियोजन भएसँगै डिपिआर बनिसकेको र ठेक्का गर्न सक्ने अवस्थामा पुगिसक्दा पनि अहिलेको बजेटले प्राथमिकता नदिएर पूर्वाग्रह राखेको उनले बताइन्। 

‘पोखरा र लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग र कर्णाली जोड्ने कोहलपुर राजमार्ग यो सरकारको प्राथमिकतामा नपर्नुको कारण के हो ?’ उनले प्रश्न गरिन्। उनले त्यसका लागि अर्थ मन्त्रालयले सम्झौता गरेर पैसा पनि आइसकेको अवस्थामा काम नहुनुको कारण सोधेकी छन्। 
 
त्यस्तै आँधीखोला जलविद्युत परियोजना सम्भाव्यता अध्ययन सर्वे भनेर तीन वर्षदेखि बजेट विनियोजन भए पनि ठिक ढंगले काम नहुँदा स्थानीयले सास्ती भोग्नु परेको बताउँदै अर्यालले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन्। 

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्