Kathmandu Press

‘बजेटले अर्थतन्त्रका मूलभूत समस्यालाई सम्बोधन गरेन’

बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै ज्ञवालीले अर्थतन्त्रमाथिको वाह्य र आन्तरिक प्रतिकुलता र त्यसको सामनाका लागि आवश्यक योजना बजेटमा नदेखिएको बताएका हुन्। 
‘बजेटले अर्थतन्त्रका मूलभूत समस्यालाई सम्बोधन गरेन’

काठमाडौं, जेठ १९ : नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले ल्याएको बजेटले अर्थतन्त्रका मूलभूत समस्यालाई सम्बोधन नगरेको बताएका छन्। 

बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै ज्ञवालीले अर्थतन्त्रमाथिको वाह्य र आन्तरिक प्रतिकुलता र त्यसको सामनाका लागि आवश्यक योजना बजेटमा नदेखिएको बताएका हुन्। 

उनले बजेट बाहिरी सतहमा मात्रै कुदेको बताए । अर्थमन्त्रीले पुँजीगत तर्फ मासिक १० प्रतिशत खर्च गर्छु भनको भएपनि १० महिनाको अवधिमा ३ प्रतिशत मात्रै खर्च भएको उनले बताए । उनले पुँजीगत खर्चमा वाधक बनेका तत्वहरु र त्यसको समाधानका बारेमा बजेट मौन बसेको बताए। 

‘उत्पादक शक्तिको मुख्य वाधक के हो ? के कारणले उत्पादक शक्ति प्रष्फुटित हुन पाइरहेको छैन ? त्यो वाधक उत्पादन सम्बन्धलाई कसरी अनुकुल बनाउन सकिन्छ, पहिलो फोकस त्यहाँ हुन जरुरी थियो,’ उनले भने,‘आर्थिक वृद्धिमा केन्द्रिकृत हुँदै त्यो त्यो वृद्धिको लाभ न्यायोचित रुपले जनताले पाउने कुराको सुनिश्चितता गर्ने फ्रेमवर्क निर्माण गरिनुपथ्र्यो, त्यो भएन ।’ 

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा जोड्नका लागि कनेक्टिभिटीहरुलाई प्रवद्र्धन गर्ने र विश्वको अर्थतन्त्र कता गइरहेको छ, त्यो बहावलाई ध्यानमा राखेर बन्नुपर्ने उनको धारणा थियो।

‘वर्तमान विश्व अर्थतन्त्र प्रतिकुलतातिर धकेलिँदै गएको छ। कोभिडको असर कायमै छ, चीन र अमेरिकाबीच व्यापार युद्ध र तनाव छ। विश्व व्यापार संगठन निष्प्रभावी बनेको अवस्था छ। रुस युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रृंखलामा ठूलो प्रभाव पारेको छ। उर्जा र खाद्य संकट सघन बन्दै छ र जलवायू परिवर्तनका असरहरु कायमै छन्। यी सबै कुरालाई ध्यानमा राखेर बजेट बन्नुपथ्र्यो,’उनले भने।  

‘आन्तरिक रुपमा भयावह बन्दै गरेको व्यापार घाटा, जोखिमको विन्दुमा पुगेको विदेशी मुद्रा सञ्चिती, विकराल बन्दै गइरहेको मूल्यवृद्धि, घट्दो उत्पादन र उत्पादकत्व, न्यून पुँजीगत खर्च, विचौलियाहरुको बर्चस्व लगायतका कारण श्रमशक्तिमा बढ्दो निराशालाई चिर्न एउटा निकास आवश्यक छ,’ ज्ञवालीले भने।  
 
 

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्