Kathmandu Press

‘बजेट कार्यान्वयन गर्न भ्रष्टाचार र कमिशन विरुद्ध निर्मम ढंगले जानुको विकल्प छैन’

संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै गुरुङले मुलुकलाई आत्मनिर्भर बनाउन उत्पादनलाई जोड दिनुपर्ने र अहिलेको बजेटले त्यस्ता विषयको सम्बोधन गरेको बताए।
‘बजेट कार्यान्वयन गर्न भ्रष्टाचार र कमिशन विरुद्ध निर्मम ढंगले जानुको विकल्प छैन’

काठमाडौं, जेठ १८ : नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ मुलुकलाई आत्मनिर्भरको दिशामा लैजान बजेट कोशेढुंगा सावित हुने बताएका छन्।

संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै गुरुङले मुलुकलाई आत्मनिर्भर बनाउन उत्पादनलाई जोड दिनुपर्ने र अहिलेको बजेटले त्यस्ता विषयको सम्बोधन गरेको बताए।

उनले नेपाल एकाधिकार दलाल पुँजीवादबाट जकडिएको र परनिर्भरतामुखी, आयातमुखी र उपभोक्तामुखी अर्थतन्त्र नै विद्यमान समस्या रहेको बताए।  

यस्ता समस्या समाधानका लागि बजेटले कृषी र औद्योगिक उत्पादनलाई प्राथमिकता दिएको उनले बताए । ‘उत्पादनमुखी कोणले राष्ट्रिय पुँजी निर्माण गर्ने र आत्मनिर्भरताको दिशामा लैजान्छ,’ उनले भने। 

उनले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण जरुरी रहेको बताए । यसअघिका बजेटहरु उत्पादनमुखी र राष्ट्रिय पुँजी निर्माणमुखी कम वितरणमुखी र प्रचारमुखी बढी हुँदै आएको उनले बताए। 

बजेटको परम्परागत शैलीलाई क्रस गर्दै अहिलेको बजेटले मुलुकलाई उत्पादनमुखी दिशामा केन्द्रीत गर्न खोजेको उनले बताए। ‘परमुखीताको दिशामा रहेको अर्थतन्त्रलाई बढी भन्दा बढी आत्मनिर्भरमुखी दिशामा लैजाने छ । त्यो दिशामा लैजान बजेट कोशेढुंगा हुनेछ,’ उनले भने। 

बजेट राम्रो हँुदाहुँदै पनि कार्यान्वयनमा भने थुप्रै चुनौती रहेको गुरुङले बताए। उनले पुँजीगत खर्च कम छुट्याइने र छुट्याइएको बजेट पनि पूर्णरुपमा कार्यान्वयन नहुने पुरानै प्रवृत्ति दोहोरिन नदिन ब्यूरोक्रेसी र राज्यसंयन्त्रको प्रणालीको रुपान्तरण आवश्यक रहेको बताए । 

त्यस्तै भ्रष्टाचार र कमिशनविरुद्ध निर्मम ढंगले नगएसम्म बजेटको पूर्ण कार्यान्वयन नहुने बताए। 


  
 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्