पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेकाे भन्दै तीनजनालाई एमाले कास्कीले गर्याे कारबाही
काठमाडौं, जेठ १८ : पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेर गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेलेको भन्दै कास्की एमालेले तीनजनालाई कारबाही गरेको छ।गत वैशाख ३० मा...
काठमाडौं, जेठ १८ : पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेर गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेलेको भन्दै कास्की एमालेले तीनजनालाई कारबाही गरेको छ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा पोखरा महानगरपालिका वडा २१ अन्तर्गत पार्टी संगठित सदस्य मनोज पहारी, वडा ३३ कमिटीका उपाध्यक्ष महेश अर्याल र सोही वडाकै संगठित सदस्य प्रशान्त आचार्य छन्। उनीहरूलाई पार्टी संगठित सदस्यबाट निलम्बन गरिएको हो।
अन्तरघातबारे सार्वजनिक भएका तथ्य प्रमाणका आधारमा तीनजनालाई पार्टी सदस्यबाट निलम्बन गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पोखरामा एमालेले कृष्ण थापालाई प्रमुख पदमा उम्मेदवार बनाए पनि उनलाई पराजित गरेर गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका थिए।
‘सार्वजनिक भएका भ्वाइस क्लिप र त्यसमा संलग्न व्यक्तिहरुसँग पार्टीका सम्बन्धित कमिटीहरुले स्पष्टीकरण सोधी निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसारको अनुशासन उल्लघंन गरिएको ठहर गरी धारा ८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराउँदछौंं,’ वज्ञिप्तिमा उल्लेख छ।











